शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

जुगलमा नमुना युवा गाउँसभा

सिन्धुपाल्चोक - जुगल गाउँपालिकामा तीन दिवसीय अभ्यासमूलक कार्यक्रम ‘नमुना युवा गाउँसभा' सकिएको छ । 'स्थानीय शासनलाई बुझौँ, नेतृत्व गर्न सिकौँ' भन्ने मूल नाराका साथ जुगलमा तीन दिवसीय अभ्यासमूलक कार्यक्रम‘नमुना युवा गाउँसभा सकिएको हो ।

जुगल गाँउपालिकाको अध्यक्ष रेसम स्याङ्वोले उद्घाटन गरेको कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबाट प्रतिनिधित्व गर्ने ३५ जना छात्रछात्राहरूको उपस्थिति थियो ।

विद्यार्थीहरूको नेतृत्व विकास, क्षमता विकास, राजनीतिक चेतना, योजना निर्माण प्रक्रिया र गाँउ सभा सञ्चालन अभ्यास गरि व्यवहारिक ज्ञान प्रदान गरेको छ।

स्थानीय सरकारको प्रणाली, विशेष गरी गाउँसभा प्रक्रियाबारे युवाहरूलाई प्रत्यक्ष अभ्यास गराउने उदेश्यका साथ सुरु भएको नमूना गाउँसभा कार्यक्रम जुगल गाउँपालिकाको आर्थिक सहयोग र इन्साइट टेक नेपाल को समन्वयमा भएको हो।

नयाँ पुस्तामा स्थानीय सरकारको सजीव अभ्यास
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी युवाहरूले स्थानीय तहमा हुने निर्णय, नीति निर्माण, योजना प्रस्ताव, छलफल र बजेट निर्माण प्रक्रियालाई आफैं अभ्यास गर्दै गाउँसभाको झल्को दिने वातावरणमा उनीहरूले वडाध्यक्ष, पालिका अध्यक्ष, सदस्य तथा नागरिक प्रतिनिधिको भूमिका निर्वाह गर्दै जुगल गाउँपालिकाको सार्वजनिक महत्वका विषयहरूमा सशक्त प्रस्तुति दिएका थिए।

सहभागी युवाहरूले समुदायको यथार्थ समस्यालाई आधार बनाएर योजना प्रस्तुत गरे। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू स्वयं उपस्थित भई युवाहरूको अभ्यास हेरे र खुलेर प्रशंसा गरे । गाउँसभा प्रक्रियाको प्रत्यक्ष अभ्यासले सहभागी युवाहरूमा आत्मविश्वास अभिवृद्धि र  गरेको अनुभव उनीहरू आफैंले पनि अभिव्यक्त गरे । स्थानीय सरकारको योजना प्रकृया, कानुनी प्रकृया, जनप्रतिनिधीको भूमिका वारे सहभागी आफै उक्त भूमिकामा रहेर गरेको अभ्यासले साच्चै विद्यार्थीहरूलाई एक नयाँ अनुभुति दिएको बताए ।

नेतृत्व विकास र सशक्तीकरणको अवसर
कार्यक्रमको क्रममा नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति, सहकार्य र योजना निर्माण जस्ता विषयहरूमा सत्रहरू सञ्चालन गरिए । सहभागीहरूले गाउँभित्रको सामाजिक समस्या पहिचान गर्दै समूहगत छलफल  र त्यसको समाधानका लागि योजनाहरू निर्माण गरी प्रस्तुत गर्‍यो ।

'हामीलाई गाउँपालिका कसरी चल्छ, योजना कसरी बनाइन्छ भन्ने बुझ्न र सहभागी हुन सिक्न पाइयो'एक सहभागी युवाले बताए। यस्तो कार्यक्रमले युवा पुस्तालाई स्थानीय सरकारसँग नजिकबनाउने मात्र नभई उनीहरूलाई आउने दिनहरूमा स्थानीय सरकारको हरेक गतिविधीमा सहभागी बन्न पनि प्रेरित गर्ने देखिएको छ।

सशक्त नागरिकका लागि अभ्यास
सहभागीहरूले लोकतान्त्रिक अभ्यास, सहमति र पारदर्शिताको महत्त्व बुझ्न पाए। उनीहरूले नीति निर्माणमा कसरी सहभागिता जनाउने भन्ने व्यावहारिक सीप सिके। यस अभ्यासले युवाको क्षमतालाई उजागर गर्‍यो, स्थानीय सरकार र युवाबीचको सहकार्यलाई पनि मजबुत बनायो ।

दिगो अभ्यासको आधारशिला
कार्यक्रमको एक प्रमुख उपलब्धि भनेको पालिकाका जनप्रतिनिधिहरू स्वयंले कार्यक्रमको प्रभाव देखेर यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु हो । पालिका अध्यक्ष रेशम स्याङ्बोले नमुना युवा जुगल गाउँसभा अभ्यासमा युवा सहभागिता आवश्यक रहेको स्वीकार गर्दै यस्तो अभ्यासले पालिकाको भावी नेतृत्व निर्माणमा सहयोग पुर्‍याउने धारणा व्यक्त गरे।

‘नमुना युवा गाउँसभाअभ्यास कार्यक्रमलेयुवा नेतृत्व निर्माण, स्थानीय सरकारप्रति उत्तरदायित्वरलोकतान्त्रिक अभ्यासको प्रवर्द्धनजस्ता पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। स्थानीय सरकारको सहकार्य र युवा विद्यार्थीहरूको संलग्नतामा, यस्ता अभ्यासहरूले स्थानीय सरकारलाई अझ जवाफदेही, समावेशी र युवा सहभागी बनाउन मार्ग प्रशस्त गर्नेछन्।