बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

काठमाडौं- नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसाको जरिवाना समेत तोकेको हो ।

बस्नेतमाथि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसाको अवैध सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। यस मुद्दामा अदालतले उनलाई थप ३ वर्ष कैद र सो रकमको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसाको जरिवाना गर्ने फैसला गरेको हो।

त्यसैगरी राष्ट्रसेवकको हैसियतले अपराध गरेकाले १० प्रतिशत अतिरिक्त कैद थप्दै अदालतले कुल ९३ महिना १० दिन (७ वर्ष ९ महिना १० दिन) को सजाय सुनाएको छ ।

अदालतको फैसलाअनुसार बस्नेतबाट गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गरिनेछ । साथै, उनीबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा, र पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपूर्ति स्वरूप पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेश पनि दिइएको छ। यसै मुद्दामा संलग्न पद्मा मर्चेन्ट कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई समेत ८ वर्ष कैदको सजाय दिइएको छ।

कँडेल र उनी संलग्न दुई कम्पनीले बस्नेतसँग मिलेमतोमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बराबरको घूस लेनदेन गरेको ठहर गरिएको हो । तिनीहरूले संयुक्तरूपमा २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो रकम दामासाही तिरिसकेको हुनुपर्ने अदालतको ठहर छ।