मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

काठमाडौँ- सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । 

नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् ।

‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

उनले अगाडि भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्‍यो ? यो गम्भीर विषय भएको छ ।’

निजामति सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुलेपछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।