मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

'यो सचेत मनले लेख्या संविधान हो, ०४७ सालको संविधान होइन'

काठमाडौँ : नेपाली कांग्रेसका मिनेन्द्र रिजालले नेपालको संविधान सचेत मनले लेखेको संविधान भएको बताएका छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत माग्दै रिजालले यो २०४७ सालको संविधान नभएको प्रष्ट पारेका हुन् ।

'एउटै पार्टीको सभामुख र उपसभामुख हुँदैन भन्दा दुई तिहाई छ जे गर्दा पनि भन्ने गरे । म पूर्ववक्ता सांसद (प्रदिप ज्ञवाली)को कदर गर्छ', उनले भने,'यो संविधान सचेत मनले लेख्या संविधान हो । यो ०४७ सालको संविधान होइन ।'

संविधान बनेपछि नै यो संविधानलाई भत्काउने काम भएकोसमेत रिजालले बताए । उनका अनुसार आफ्नो पदीय मर्यादा बिर्सनेहरूलाई नेपालमा संविधान छ भनेर सम्झाउने कोसिस कांग्रेसले मात्रै गरेको हो ।

'वीपी कोइरालाको पार्टी हो कांग्रेस । शेरबहादुर सभापति रहेको पार्टी हो कांग्रेस । जीतमा शालीनता देखाउँछ, हारलाई पनि स्वीकार गर्छ । यो चरित्र हो कांग्रेसको । संविधान बनेपछि संविधान भत्काउने काम सुरु भयो', उनले भने ।

संविधानमाथिको आक्रमणविरुद्ध कांग्रेस नै अदालत गएको उनले बताए ।

'एक दशकमा १२ वटा सरकार बन्ने संविधानबाट पाठ सिकेर ७६(५) को व्यवस्था राख्यौँ । संसद्‌लाई जोगाउन बहुमतको सरकार बन्ने अवस्थासम्म हरेक सांसद्‌ले विवेकको मत दिएर प्रधानमन्त्री हुन पाउनेछ भन्ने हो', रिजालले भने,'त्यहीँ विवेकको मत दिने व्यवस्थामाथि आक्रमण भयो । यहीँ आक्रमणविरुद्ध हामी अदालत गएका हौँ । अदालतले प्रधानमन्त्री नियुक्त गर्‍या होइन । आफ्नो पदीय मर्यादा बिर्सनेहरूलाई नेपालमा संविधान छ भनेर सम्झाउने कोसिस मात्रै गर्‍या हो ।'