मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

ओलीलाई लक्षित गर्दै दाहालले भने : कोसँग लोकतान्त्रिक संस्कार भन्‍ने प्रष्ट छ

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सामान्य लोकतान्त्रिक संस्कारको अभाव छ भन्ने प्रष्ट भएको बताए । आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग गर्दै दाहालले देउवा प्रधानमन्त्री हुँदादेखि नै ओलीले देखाएको भूमिकामाथि उनले प्रश्न गरेका हुन् । 

‘अहिले पनि स्वाभाविक लागेको छैन । अस्ति प्रधानमन्त्रीको शपथ ग्रहणको कार्यक्रममा अस्वाभाविक परिघटना भए । नियुक्तिको सन्दर्भमा प्रयोग भएको भाषा संविधानको मर्मविपरित थियो । शपथ ग्रहण नै रोकिएको थियो । यो पटक-पटक हुने विषय थिएन,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साइड–बाइ–साइड बस्ने, चाहे त्यो फरक फरक पार्टीको होस् । र, शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर, शेरबहादुरजीको सन्दर्भमा त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्रीले त्यहाँ उपस्थित हुनु आवश्यक ठान्नु भएन । हेर्दा सानो प्राविधिक विषय भन्न पनि सकिन्छ । तर, यो कोसँग लोकतान्त्रिक संस्कार छ, भिन्न मतलाई सामना गर्ने आँट कोसँग छ भन्ने गम्भिर नैतिकताको प्रश्न छ । यो लोकतन्त्रसँग जोडिएको प्रश्न हो ।’