शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ- रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । 

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए । पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । 

आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना रु एकमा बिक्री गरेका हुन् । 

सोही स्थानका खड्गप्रसाद रेग्मीले रु ४५ हजारका लिची बेचिसकेका छन् ।  केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । रावाबेँसीका किसानले लिचीबाट यसपटक रु ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ । 

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए ।