शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफुबिरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् । आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनले बताए ।

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी गर्नुभयो । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ छ । अध्यक्ष नेपालले अरुको कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको र परिणाम समेत दिन नसकेको बताए । वर्तमान सरकार जनविरोधी रहेकाले सरकारले पतन अनिवार्य रहेको उनको भनाइ छ ।