शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

जलवायु परिवर्तनको असर नेपालसम्म: यति तीव्र र विनाशकारी बाढीहरू किन हुँदैछन्?

बाढी सधैंभरी प्राकृतिक विपदकै रूपमा चिनिँदै आएको छ, तर पछिल्ला वर्षहरूमा यसको तीव्रता, आवृत्ति र विनाशकारी स्वरूप झनै बढ्दै गइरहेको देखिन्छ। नेपालदेखि अमेरिकासम्म, हिमालदेखि मरुभूमिसम्म, आज बाढी मात्र वर्षा र नदिको समस्या रहेन—यो जलवायु परिवर्तन, मानव लापरबाही, र अव्यवस्थित शहरीकरणको सम्मिलित परिणाम बन्न थालेको छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, राजधानी काठमाडौं आफैं विगत तीन दशकमा बारम्बार डुबानमा परेको छ। १९९३ मा आएको भीषण वर्षाले बगालेको बागमती किनारका बस्तीहरू,सन् २०२४ को सेप्टेम्बर महिनामा काठमाडौँ र आसपासका क्षेत्रहरूमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। नेपाल प्रहरीका अनुसार, ३० सेप्टेम्बर २०२४ मा प्रकाशित एक रिपोर्टमा देशभर १९३ जनाको मृत्यु भएको र ३१ जना अझै बेपत्ता रहेको जनाइएको थियो।  काठमाडौँ उपत्यकामा मात्र ७३ जनाको मृत्यु भएको र २०० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको थियो। यस विपत्तिका कारण ३,७०५ भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको थियो र ९६ जना घाइते भएका थिए।

काठमाडौं उपत्यकाको समस्या मात्र होइन, देशको उत्तर सीमा रसुवामा हिजो राति घटेको घटना झनै चकित बनाउने खालको थियो। चीनतर्फ परेको मूसलधारे वर्षाले भोटेकोशी नदीमा अचानक पानीको सतह वृद्धि हुँदा नेपाल–चीन व्यापारिक नाका जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको छ। यो कुनै सामान्य पुल थिएन।  यो थियो दुई राष्ट्र बीचको व्यापार, यात्रु ओहोरदोहोर र सुरक्षा संयन्त्रको मुख्य जीवनरेखा। पुल बगाउँदा १८ जना सम्पर्कविहीन भएका छन्, जसमा तीन जना प्रहरी, छ जना चिनियाँ नागरिक र अन्य नेपालीहरू छन्। अहिलेसम्म आठ जनाको सकुशल उद्धार भएको खबर छ।

विशेषज्ञहरूका अनुसार, रासुवागढीको बाढी सिधै वर्षासँग सम्बन्धित नभई हिमनदी पग्लिएर बनेको ग्रिसरियल झीलको संभावित विस्फोटसँग जोडिएको हुन सक्छ। यस्तो घटनामा एकैचोटि ठूलो मात्रामा पानी तल खस्छ, जसले भोटेकोशी जस्ता नदीहरूमा बिनाअनुमान अत्यधिक बहाव ल्याउँछ। पहाडी संरचना भएका देशहरूमा यो प्रकारको बाढी अझ खतरनाक मानिन्छ।

विश्वमा पनि यतिबेला बाढीको क्रूरता देख्न सकिन्छ। अमेरिका, टेक्सासमा जुलाई ४–५ मा आएको बाढीले १०० भन्दा बढी मानिसको ज्यान लिएको छ। पाकिस्तानको स्वात भ्याली र गिलगिट–बाल्टिस्तान क्षेत्रमा नदीहरू उर्लिएका छन्, बस्तीहरू बगाएका छन्। अर्जेन्टिनाको बाहिया ब्लांका शहरमा मार्चमा आएको २९० मिमी वर्षाले १७ जनाको मृत्यु गरायो भने २०० भन्दा बढी अझै हराइरहेका छन्। अफ्रिकाको नाइजेरियामा यसै वर्ष बाढीका कारण दुई सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अब प्रश्न उठ्छ—यति तीव्र र विनाशकारी बाढीहरू किन हुँदैछन्?

मुख्य कारण भनेको जलवायु परिवर्तन हो। वातावरणमा तापक्रम वृद्धि हुँदा वायुमण्डलले बढी नमी थाम्न सक्छ। जसले गर्दा वर्षा हुँदा सामान्य भन्दा धेरै पानी थोरै समयमै खस्छ। यसै कारण बाढीको गति पनि तीव्र हुन्छ, र मानव बस्तीहरू क्षणभरमै डुब्छन्। दोस्रो कारण हो—अनियन्त्रित विकास। नदी किनारमा घर, नाला माथि सडक, जंगल फँडानी र बाढी नियन्त्रण संरचनाको कमजोर निर्माणले बाढीको मार्ग बन्द गरिदिन्छ, जसले गर्दा पानी नयाँ बाटो बनाएर शहर बगाउँछ।

नेपालको जस्तो देश जहाँ हिमाल, पहाड र तराई सबै क्षेत्र छन्, त्यहाँ वर्षा, पहिरो र नदी सबै त्रिकोणात्मक खतरा बन्छन्। तर बाढीबाट जोगिन सकिन्छ—यदि पूर्वतयारी सही हो भने। यसप्रकारका प्राकृतिक विपत्तिको व्यवस्थापन र रोकथामका लागि नेपाल सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय मुख्य जिम्मेवार रहेको छ भने आपतकालीन राहत र व्यवस्थापन गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सम्हाल्छन्।

बाढी अब केवल पानीको बहाव होइन—यो एक चेतावनी हो। प्रकृतिको सन्तुलन भत्किएको संकेत हो। समयमै नबुझिए यो पानीले बगाउने केवल घर वा पुल होइन—जीवन, भविष्य र राष्ट्रको संरचना नै हुनेछ।

बाढी र पहिरोको जोखिम न्यूनीकरणका लागि सबैभन्दा पहिला वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। विकासको नाममा अनियन्त्रित रूपमा जंगल फडानी भइरहेको दृश्य चिन्ताजनक बन्दै गएको छ। जंगल कटानले माटोको क्षरण बढाउँछ र पहिरोको खतरा बढाउँछ। त्यसैले नदी किनारा र पहाडी क्षेत्रमा वन संरक्षण तथा पुनःरोपण अनिवार्य छ। जोखिमयुक्त क्षेत्रमा आवास र संरचना निर्माण नगर्नुपर्ने नीति बनाउनु पर्दछ भने पहिरो सम्भावित क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सार्ने व्यवस्थामा जोड दिनुपर्छ।

नदी, खोलाको जल निकास व्यवस्थापन र बाँध निर्माणमा सुधार ल्याउन आवश्यक छ। नदी नालाहरूको नियमित मर्मतसम्भार र आधुनिक बाँध तथा बाँध नियमन संरचना बनाउने कार्य गर्नुपर्छ। साथै, वर्षा र बाढीको पूर्वसूचना प्रणाली स्थापना गरी मोबाइल र रेडियोमार्फत तत्काल जानकारी दिन सकिने व्यवस्था विकास गर्नुपर्ने हुन्छ।

प्रविधिको क्षेत्रमा स्मार्ट सेंसर्स स्थापना गरी नदी किनारा, पहिरो सम्भावित क्षेत्रहरूमा माटोको कम्पन, पानीको स्तर, र वातावरणीय अवस्था मापन गरिन सक्छ। GIS र उपग्रहबाट भू-स्थानिक नक्सा तयार गरेर जोखिम क्षेत्र पहिचान गर्न मद्दत मिल्छ। ड्रोन्सबाट बाढी प्रभावित क्षेत्रको छिटो सर्वेक्षण र राहत व्यवस्थापन गर्न सकिन्छ। त्यस्तै, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरेर वर्षाको पूर्वानुमान अझ सटीक बनाउन सकिन्छ।

समग्रमा, विभिन्न मन्त्रालयहरूबीच समन्वय र प्रविधिको सही प्रयोगले बाढी तथा पहिरोको जोखिम न्यूनीकरणमा ठूलो भूमिका खेल्न सक्छ। साथै, जनसचेतना अभिवृद्धि र स्थानीय समुदायको सहभागिताले पनि प्रभावकारी व्यवस्थापन सम्भव छ।

भर्खरै सम्पन्न नेपालमा आयोजना भएको सगरमाथा संवादले मुलुकका विविध क्षेत्रमा रहेका चुनौतीहरू र सम्भावित समाधानहरूको गहिरो छलफल गरेको छ। यस संवादबाट स्पष्ट भयो कि विकास, प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा अझ छिटो र ठोस काम अगाडि बढाउन आवश्यक छ ।  अबका दिनमा यस्ता संवादहरू केवल सम्मेलनका सीमित कक्षमा सीमित नहोस्—यी विचारहरू व्यवहारमा परिणत होऊन्। किनभने प्राकृतिक जोखिम न्यूनीकरणको अन्तिम लक्ष्य भनेकै पृथ्वीलाई बचाउनु हो ।

अब समय हो, हामीले प्राकृतिक जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने। जोखिम न्यूनीकरण भनेको केवल तत्कालको संकट व्यवस्थापन मात्र होइन, यो त समग्र पृथ्वीलाई जोगाउने संघर्ष हो। जब हामी बाढी, पहिरो, जलवायु परिवर्तन जस्ता समस्याको समाधान खोज्छौं, तब हामी हाम्रो धर्तीलाई जोगाउने काम गरिरहेका हुन्छौं।