शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा वामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना वामपन्थी दल र संगठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।

इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भएपछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः
- नेकपा (माओवादी केन्द्र)
- नेकपा (एकीकृत समाजवादी) 
- राष्ट्रिय जनमोर्चा, नेपाल
- नेकपा (मसाल) 
- नेपाल कम्युनिस्ट पार्टी
- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल 
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल 
- नेकपा 
- नेकपा (बहुमत)
- नेपाल समाजवादी पार्टी 
- जसपा 
- देशभक्त समाजवादी स्कुल 
- राजनीतिक सम्वाद अभियान