आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

काठमाडौँ- सम्पादक समाज नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित  अन्तरक्रिया गरेको छ । शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तर्क्रियामा विभिन्न सञ्चारमाध्यमका करिब सय पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैंले सकेजति गुफाडाँडाको प्रवर्धन गर्न लागेको जानकारी दिए ।

उनले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले थप मनमोहक रहेको बताए ।  पदयात्रा समापन कार्यक्रममा वडा नं. ९ का अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताए । आफ्नै स्रोतसाधनमा स्थानीयले सञ्चालन गरेको होमस्टे पनि प्रवर्धनको बाटो पर्खिरहेको उनले जानकारी दिए । 

सम्पादक समाजका महासचिव श्याम डोटेलले जलवायु परिवर्तनको असर यस क्षेत्रमा बढ्दै गएको औँल्याउँदै तिनको न्यूनीकरण तथा वातावरण संरक्षणमा हातेमालो गर्न समाजले पत्रकारसहितको पदयात्रा गुफाडाँडामा आयोजना गरेको स्पष्ट पारे । उनले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा उनले जोड दिए  । 

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत,  वरिष्ठ पत्रकार तीर्थ कोइराला र श्याम डोटेललगायत पत्रकारको सहभागिता थियो । पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पनि एक समारोहकाबिच स्वागत तथा सत्कार प्रदान गरेको थियो ।