सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटना

दोधारा चाँदनी (कञ्चनपुर)- शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्यु भयो ।

त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका– १५ का दिपेन्द्र चन्दको मृत्यु भयो । सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्यु भयो । एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । 

जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा कञ्चनपुरमा सडक दुर्घटना बढ्दो छ ।  सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन । गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ४३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५६ सवारी दुर्घटना भएका छन् । यसमध्ये ३२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जसमा ४५ जना गम्भीर घाइते भएका थिए, भने २९ जना सामान्य घाइते भएका थिए । 

त्यसैगरी सवारी दुर्घटनाबाट ६ वटा चौपायाकोसमेत मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा ६३ वटा सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्यु भयो भने ५९ जना घाइते भए । आर्थिक वर्ष २०७८/७९ मा ९३ सडक दुर्घटना भएकोमा ३५ जनाको मृत्यु भएको छ, भने ६३ घाइते भएका छन । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल छ । तीन वर्षमा  पाँच सय १४ मोटरसाइकल दुर्घटना भएका छन् । 

सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया बताउँछन ।  “साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप छ ।” उनले भने–“त्यसमा पनि चालकले ट्राफिक नियमको पालना नर्गदा सवारी दुर्घटना बढ्दै गएका छन् ।” उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको बताए । 

“अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउने गरेका छौँ ।” उनले भने–“विभिन्न समयमा चालकहरुसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ ।” यहाँका स्थानीय विष्णु जोशी भने सवारी दुर्घटनामा राज्य र नागरिक उत्तिकै दोषी देख्नुहुन्छ । “सवारी चालक स्वयम् सचेत भए दुर्घटना न्यूनीकरण हुन्छ ।”

उनले भने–“चालकले थाहा पाएर पनि ट्राफिक नियम मान्दैन, त्यसको नियमन गर्ने निकाय मौन छ ।” उनले  अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताए ।

चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको अर्का स्थानीय सरस्वती भट्ट बताउँछन् । “सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला ।”

उनले भने–“फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुबैले लापरबाही गरेको हुन्छ ।” उहाँले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको बताए । रासस