मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बाल अस्पताल निर्माणका लागि रु १ करोड आर्थिक सहयोग प्रदान गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगमार्फत काठमाडौँको बुढानीलकण्ठमा निर्माणाधीन बहुविशिष्टीकृत ‘हब’ अस्पताललाई गति मिल्ने अपेक्षा गरिएको छ।

सो सम्बन्धमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। कार्यक्रममा बोल्दै संचालक कमलेश कुमार अग्रवालले नेपाल लाइफ यस्तो दूरदृष्टिपूर्ण परियोजनासँग जोडिन पाउँदा गौरवको महसुस भएको बताए। उनले भने, “किओचले बालबालिकाको स्वास्थ्यमा योगदान पुर्‍याउने मात्र होइन, राज्यको नीतिलाई समेत सघाउनेछ।”

कार्यकारी प्रमुख पराजुलीले कम्पनीले सामाजिक, शैक्षिक, आर्थिक र संस्कृतिक रूपान्तरणमा ध्यान दिँदै आएको उल्लेख गर्दै, बाल स्वास्थ्य सेवा विस्तारको अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए। उनले राजधानीसहित सातै प्रदेशमा सुविधायुक्त बाल अस्पताल निर्माणका लागि कम्पनी आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको जानकारी दिए।

डा। भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति आभार प्रकट गर्दै उक्त सहयोगले अस्पतालको निर्माण कार्यमा तीव्रता ल्याउने बताए। किओचको उद्देश्य सबै प्रादेशिक अस्पतालहरूलाई स्रोत केन्द्रका रूपमा विकास गर्नु रहेको उल्लेख गर्दै, उनले दमकमा सञ्चालित बाल अस्पतालमार्फत हाल पीआईसीयू, एनआईसीयू, आकस्मिक, रेडियोलोजी, र शल्यक्रियालगायतका सेवा सुरु भइसकेको जानकारी दिए।

किओचले नीति निर्माण, दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थापना गरिएको हो। नेपाल लाइफको यो सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व उदाहरणीय रूपमा प्रस्तुत गरेको छ।