समाज र शिक्षकको भूमिका

विद्यार्थीको जीवनलाई अन्धकारबाट उज्यालो बनाउन भविष्यमा जस्तोसुकै परिस्थितिलाई सामना गरी समय सापेक्ष समाजमा स्थापित हुन आवश्यक पर्ने सम्पूर्ण गुणहरूले भरिपूर्ण बनाउने व्यक्ति हो शिक्षक । विद्यार्थीको जीवन सफल असफल हुनुमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।
शिक्षक आफू सीमित परिधिभित्र रहेर विद्यार्थीलाई अनन्त बनाउँछ। यसरी विद्यार्थीको जीवनकालमा कहीँ कतै कुनै कमीकमजोरी रह्यो र जीवनयापनमा कुनै कठिनाइ आयो भने शिक्षकले प्रदान गरेको शिक्षामा कमजोरी रह्यो भन्न सकिन्छ । असल जीवनपयोगी र संस्कारी शिक्षाले जीवनमा ठूलो परिवर्तन ल्याउँछ। सही वक्तमा सही शिक्षा दिन सफल हुन सके व्यक्ति सफल बन्छ र उसले बाटो बिराउँदैन ऊ भ्रष्ट र दुराचारी हुँदैन।
बाल्मिकीको जीवनीबाट पनि यो प्रमाणित हुन्छ कि व्यक्ति जस्तो परिवेश संस्कृति र शिक्षामा बढ्छ हुर्कन्छ ऊ त्यस्तै बन्छ, सोही अनुरूप रत्नाकर बालक पनि कुख्यात डाका हत्यारा भयो। पछि गुरुबाट सही समयमा असल शिक्षा प्राप्त भएबाट ऊ ऋषि भएको वृत्तान्त हामी पाउँछौं। शिक्षा प्रदान गर्ने व्यक्ति शिक्षक आफूमा भएको ज्ञान गंगा बगाई रहन्छ आफू बाँडछ मात्रै र बाँच्छ मात्रै ।सबैलाई ब्रह्माण्डमा विचरण गराउँछ,उडाउँछ र आफू चाहिँ त्यही धरातलमा बस्छ, त्यस्तो विचित्र प्रकृति र कला भएको व्यक्ति हो शिक्षक त्यसैमा उसलाई अपार आनन्दको अनुभूति हुन्छ।
आजभोलि विद्यार्थीहरू अटेरी, अल्छी, कार्यप्रति उदासिन र विद्रोही हुँदै गइरहेका छन्। यस्तो हुनुमा अरु कोही दोषी नभएर घर समाज र विद्यालय नै हो । घर समाजले असल संस्कार र संस्कृति दिनुपर्दछ भने विद्यालयले तिनीहरूमा रहेका अन्तर्नित प्रतिभालाई प्रस्फुटन गराउने,त्यस्ता प्रतिभालाई माज्ने, तिखार्ने,चम्काउने र रङ्गाउने गर्नुपर्छ। हरेक विद्यार्थीमा केहि न केहि प्राकृतिक गुण हुन्छन् भन्ने बुझी त्यसलाई उजागर गरी सोही गुणमा आधारित भई विद्यार्थीलाई अघि बढाउने प्रयत्न गर्नुपर्छ।
विद्यार्थीलाई विश्वासमा लिई कुनै पनि कुरालाई फरक ढंगबाट सोची सृजनशील हुन मद्दत गर्नुपर्छ। हरेक विद्यार्थीका रुचि सोच भिन्नभिन्न हुने भएकाले पठनपाठन गर्दा गराउँदा सोही अनुसार अलगअलग तरिकाबाट भिन्न उदाहरण र सुझाव दिइ गराउनु पर्दछ । मानव सधै जिज्ञासु उत्सुक र हरेक दिन केही नयाँ गर्न खोज्ने भएको र विद्यार्थीहरू पनि कुनै न कुनै कुरा सिक्दा नयाँ ढंग सोच र स्वादमा पायो भने दङ्ग भई छिटो र अविस्मरणीय सिकाई सिक्छन्। जसले उनीहरूलाई सृजनशील हुन मद्दत गर्दछ।
कुनै पनि विद्यार्थी सबै कुरामा पारङ्गत हुँदैन। हरेक विद्यार्थीमा अलग प्रकारका गुण र सीप हुन्छन्। कोही खेलकुदमा पारङ्गत हुन्छन् भने कोही लेखमा कोही रचना नृत्य संगीत र कलामा भने कोही खोज अनुसन्धान र विज्ञानमा भने कोही नेतृत्व र चित्रकलामा त्यसैले शिक्षकले त्यसको पहिचान गरी सही बाटो देखाउन सक्यो भने उसले आफ्नो भविष्य सुनिश्चित गर्न सक्छ नत्र विद्यार्थी उद्देश्यमा असफल भई कुइरोको कागजै अन्योलमा परे विचलित पनि हुन सक्छ।
विद्यार्थीहरू काँचो माटो झैँ भएकाले शिक्षकले एक असल कुशल कुमालेको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ विद्यार्थीहरू अत्यन्त संवेदनशील हुने भएकाले शिक्षक हरवक्त सचेत हुनुपर्दछ। आजको युगमा पुरातनवादी सोच समाजबाट शिक्षा प्रदान गर्दा वर्तमान परिपेक्षमा अनुचित हुनसक्छ । जहाँ एक्काइसौँ शताब्दीमा नयाँ नयाँ विचार,विज्ञान प्रविधिको आविष्कार। नयाँ नयाँ ज्ञानको विस्फोट र पुराना विचार र धारणाहरूमा पनि परिवर्तन भएसँगै नयाँ जीवनोपयोगी व्यवहारिक र वर्तमान र भविष्यमा आउन सक्ने जटिलतालाई बुझ्न सक्ने शिक्षा प्रदान गर्न सके मात्र सान्दर्भिक हुन सक्छ।
विद्यार्थीलाई सिप सिकाई क्रियाकलाप गराउँदा बोझको रुपमा नभई सहज ,सरल,सरस र उद्देश्यमूलक तरिकाबाट गराउनुपर्दछ। पढ्नु भनेको सिकाई अवधिभर दुःख पाउनु हो भन्ने अर्थमा विद्यार्थीले नलिउन् भनी कार्य गर्नुपर्दछ । कुनै पनि विषयवस्तुलाई विद्यार्थी समक्ष प्रस्तुत गर्दा बडो सहज र सरल तरिकाबाट बिस्तारै सामान्यकरण गर्दै अघि बढाउनुपर्दछ र विषयवस्तुप्रति सहभागी गराएर रमाइलो तरिकाबाट सिकाई गराइयो भने विद्यार्थीलाई विद्यालय दिक्क लाग्ने ठाउँ नभई रमाइलो तरिकाबाट सिक्ने थलोको रुपमा विकास हुन्छ विद्यार्थीलाई सकारात्मक सोचको विकास गराउन शिक्षक र विद्यालयका अन्य व्यक्ति र पक्षले राम्रो भूमिका निर्वाह गर्न सक्नुपर्छ अनि मात्र उनीहरूलाई सिक्न पढ्न बस्न मनलाग्ने र रमाइलो महसुस गर्दछन्। त्यसका लागि विद्यालय पक्षले पनि विद्यार्थी समक्ष जाने निकटता बढाउने उनीहरूसँग घुलमिल हुने उनीहरूका गुनासाहरू सुन्ने उनीहरूका विचार भावनालाई बुझ्ने गर्नुपर्दछ।
विद्यार्थीले सबैभन्दा बढी सिको गर्ने भनेकै शिक्षकको हो त्यसैले शिक्षक जीवन पनि आदर्शमय हुनुपर्छ आदर्शमा त्यस्तो ताकत हुन्छ जसले गर्दा जीवनले सही गति लिन थाल्दछ ।तर आदर्श नकारात्मक भने हुनु हुँदैन नकारात्मक आदर्शले विद्यार्थीलाई चोर फटा गुण्डा र उग्रवादी बन्ने तर्फ डोर्याउन सक्छ। र जीवन अर्थहीन उद्देश्यविहीन बन्न जान्छ। शिक्षकको जीवन सदाचारी हुनुपर्दछ, भ्रष्टाचारी होइन भ्रष्टाचार भन्नाले आर्थिक अनियमितता मात्र होइन झुठो बोल्नु विद्यार्थीलाई चाहिँ चुरोट, बिंडी,खैनी रक्सी खानु हुन्न भन्ने आफू चाहिँ खानु त्यसैगरी यसो गर्नु उसो नगर्नु यो राम्रो त्यो नराम्रो भन्ने तर शिक्षक स्वयंले ती फलाना फलाना कुराको पालना नगर्नु पनि भ्रष्टाचार हो। जब यो भ्रष्टाचारीबारे विद्यार्थीलाई थाहा हुन्छ अनि ऊ बैमान बन्छ र भन्ने एउटा गर्ने अर्को रहेछ भन्ने बुझ्छ र उसले आफ्नो धार परिवर्तन गर्न सक्छ।
मानव विकासका दृष्टिले बालबालिकाका सुरुवाती १५ १६ वर्षसम्मको समय अत्यन्त सङ्क्रमणकालीन र संवेदनशील हुन्छन्। घरबाट उनीहरूले थुप्रै मूल्यमान्यताहरू अँगालिसकेका हुन्छन्। घरेलु वातावरण उपयुक्त र सुसंस्कृत भएमा विद्यालयमा उसलाई सहजै तिखार्न सकिन्छ। तर घरबाट घृणा असन्तुष्टि कुण्ठा र नकारात्मक सोच बोकेर आएको छ भने उसले कहिले पनि कसैलाई पनि कहीँ पनि सकारात्मक रूपले लिन सक्दैन र सोच्न सक्दैन त्यसैले घरमा पनि उसको भावना विचार र अस्तित्वलाई मान्यता दिनुपर्दछ। उसलाई पनि भिन्न भिन्न तरिकाबाट सोच्न परिकल्पना गर्न खोजगर्न हौसला दिनुपर्दछ र विद्रोही हुने वातावरण सिर्जना गर्नु हुँदैन। विद्रोह गरेपछि मात्र उसका कुरा सुन्ने गर्नु हुँदैन।
यसरी सकारात्मक सोच विचारबाट संस्कृत बच्चालाई विद्यालय पठाउन सकियो भने विद्यालयमा ऊ माजिन्छ तिखारिन्छ, सामाजिकीकरण हुन्छ नेतृत्व विकास गर्छ जिम्मेवार हुन्छ त्यसैले अभिभावक समाज विद्यालयले विद्यार्थीका ज्ञान अनुभव र सोचलाई नजरअन्दाज नगरी निर्धक्कसँग फल्ने फुल्ने अवसर र हौसला दिनुपर्दछ।

चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…

मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति

जलवायु परिवर्तनको असर नेपालसम्म: यति तीव्र र विनाशकारी बाढीहरू किन हुँदैछन्?

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

देखेको हैदराबाद, भोगेको नेपाल

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

प्रतिक्रिया