मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

सत्तारुढ दलका सांसदहरुले रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका छन् । मंगलबार  बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिष्कार गर्ने नौटंकी भइरहेको उहाले बताउनुभयो । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोश्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तिका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताउनुभयो । मिडियामा प्रचारमा आउन केहि सांसदहरुले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाइ छ ।  त्यस्तै बैठकको शून्य समयमा समेत सत्तारुढ दलका सांसदहरुले आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।