बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित भइरहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिने समेत बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउँदै सुशासन, पारदर्शीता र सुदृढीकरणमा जोड दिए ।

त्यसैगरी, राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकारात्मक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले खेलकुदका समस्या समाधानका लागि समयसमयमा यस्तो कार्यक्रम जरुरी भएको बताए । कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल सङ्घका आर्थिक स्रोत, अन्तरराष्ट्रिय सङ्घ÷महासङ्घबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेटबारे कार्यपत्र पेस गरेका थिए ।
 
एकदिने उक्त कार्यक्रममा सहभागीले दसौँ राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामग्री, अन्तरराष्ट्रिय एक्सपोजर, लेखापरीक्षण, पेस्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामग्रीलगायत विषयमा आआफ्नो धारणा राखेका थिए ।