बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प्लेटफर्ममार्फत उपलव्ध गराउन आरटिआइ मेनेजमेन्ट सिस्टम सार्वजनिक गरेको हो ।

सो व्यवस्था अनुसार पहिलो चरणमा संघीय सरकारका मन्त्रालयहरु, संवैधानिक तथा केन्द्रीय आयोग, बिभाग वा विभागस्तरका कार्यालयहरुलाई अनलाइन प्रणालीमार्फत सूचना माग गर्ने, सूचना उपलव्ध नगराए पुनरावेदन समेत गर्न सकिने आयोगले जनाएको छ । यसलाई तीनै तहका सरकार र देशव्यापी रुपमा क्रमश लागू गर्ने योजना रहेको आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले जानकारी दिए । उनले डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा सूचनाको हक प्रयोग गर्न सकिने र बिभिन्न निकायमाथि हुने गरेको गुनासोको समेत यसैमार्फत जानकारी गराउन सकिने बताए ।

आयोगले जेठ २५ देखि असार मसान्तसम्मको अवधिमा २३ वटा मुद्दा दर्ता भएको र जवाफ दिन नपर्नाको कारण भए जवाफ पेश गर्न २४ वटा आदेश भएको जानकारी दिएको छ । त्यस्तै आर्थिक बर्ष २०८१÷८२ को एक वर्षभित्र कूल १ हजार ५३ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ९८५ वटा आदेश गरिएको आयोगले जनाएको छ ।