बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट कार्यविधि तयार गरेको छ ।  पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर रास्वपा प्रवक्ता मनिष झाले अव देखि रास्वपाका तर्फबाट हुने उम्मेदवार छनोटका लागि कार्यविधि तयार गरिएको जानकारी दिए ।

आगामी दिनमा कार्यविधि अनुसार नै उम्मेद्वार चयन गरिने उनले बताए । उनले  कोटको खल्तिबाट उम्मेदवारको नाम निकाल्ने भन्दा पनि सवैलाई न्याय हुने गरि उम्मेदवार चयन गर्ने परम्परा सुरु गर्न खोजिएको धारणा राखे ।

त्यस्तै रास्वपाले असार ७ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान कम्तिमा एकसय दिन चल्ने जनाएको छ । हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेको भन्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पु¥याउन घरदैलो गर्ने जानकारी दिए ।

अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दू (काकडभिट्टा, रक्सौल, जोगवनी,  बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ । हालसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको रास्वापाले जानकारी दिएको छ ।