मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

मनसुनबाट ४८ जिल्ला प्रभावित भए : प्राधिकरण

मनसुनबाट ६३ जनाको मृत्यु, ३५ जना बेपत्ता र ६३ जना घाइते

काठमाडौँ- यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको बताएका हुन् ।

उनले यस वर्षको मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको जानकारी दिए । त्यस्तै ५ सय ६५ नीजि आवास पूर्णरूपमा क्षति भएको, १ सय ५५ घर आंशिक रूपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको पनि उनले बताए । 

त्यसैगरी निर्माणाधिन र निर्माण सम्पन्‍न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको जानकारी दिए । 

गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निमाण, पुनःस्थापना र प्रवलीकरणका लागि निकासा गरिएको र यस आर्थिक वर्षमा विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरिसकिएको पनि उनले बताए । 

उनले प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको पनि बताए । विपद परेका जिल्लाहरू सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्यागहरु र माग भए अनुसारका सामग्रीहरू पठाइएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।