सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

जनरल भिल्लामिल (इक्वेडोर)- इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको छ ।

दक्षिणी गुयास प्रान्तको तटीय सहर र स्थानीय पर्यटकहरूका लागि गन्तव्य जनरल भिल्लामिल प्लेयासको मजदुर वर्गको बस्तीमा रहेको बारमा सशस्त्र व्यक्तिहरूको समूहले धेरै मानिसमाथि गोली चलाएको थियो ।

इक्वेडरको अभियोजकको कार्यालयले सामाजिक सञ्जाल एक्समा सशस्त्र व्यक्तिहरू प्रतिष्ठानमा प्रवेश गरी उपस्थितहरूलाई गोली हानेको बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूले धेरै पुल टेबलहरूको वरिपरि भुइँमा कम्तीमा नौ जना रगतले लतपतिएका शवहरू देखाएको छ ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार आक्रमणकारीहरूसँग स्वचालित राइफलहरू थिए ।

नरसंहार भएको बारमा आफन्तहरूले शनिबार राति दुईवटा कफिन राखेका थिए । एएफपी रिपोर्टरले खिचेका तस्बिरहरूका अनुसार पुल टेबलमा गोलीका प्वालहरू देखिएका थिए ।

प्रहरी कर्नल झानोन वरेलाले मिडियालाई आक्रमणमा दुई जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार गरिएको बताए ।

अधिकारीहरूले घटनास्थलमा एउटा शव मात्र पहिचान गर्न सकेका छन् ।

“दुर्भाग्यवश, जब प्रहरी आइपुग्छ, यस घटनाबाट प्रभावित धेरै व्यक्तिहरूलाई बासिन्दाहरू र परिवारका सदस्यहरूले घटनास्थलबाट हटाइदिन्छन्”, वरेलाले भने, “थप पीडित हुनसक्ने अनुमान गरिएको छ ।”

आत्मसमर्पण गर्दैनौँ
गुयास प्रिफेक्ट मार्सेला अगुइनागाले पीडितहरू मध्ये एक प्रान्तीय फुटबल स्कुलका प्रशिक्षक रहेको बताए ।

अगुइनागाले एक्समा लेखेका छन्, “हिंसाले हामीलाई घुँडा टेकाउन, हामीलाई मौन बनाउन र डरलाग्दो कुरामा बानी बसाल्न खोज्छ, तर हामी मौन रहनेछैनौँ । न त आत्मसमर्पण नै गर्नेछौँ ।”

विज्ञहरूका अनुसार इक्वेडरले हालैका इतिहासमा वर्षको सबैभन्दा हिंसक सुरुआतको अनुभव गरिरहेको बेला यो गोलीकाण्ड भएको हो ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो पाँच महिनामा इक्वेडरमा चार हजार ५१ जनाको हत्या भएको थियो ।

लागुऔषध तस्करी गर्ने सङ्गठनहरू इक्वेडरमा बढ्दै गएका छन् । त्यहाँ सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२४ मा प्रति एक लाखमा ३८ पुगेको छ ।

सन् २०२४ मा अधिकतम सुरक्षा भएको जेलबाट भागेपछि जुनमा देशको सबैभन्दा ठूलो लागुऔषध मालिक एडोल्फो मासियास उर्फ फिटोलाई पुनः पक्राउ गरेपछि आपराधिक गिरोहको हिंसा निरन्तर जारी छ ।

यस हप्ता फिटो र उनको गिरोह लस चोनेरोसको गढ मानाबी प्रान्तमा, फिटोलाई पुनः पक्राउ गरिएको मान्टासहित धेरै सहरमा भएको घातक हिंसामा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

शनिबार दिउँसो गृहमन्त्री जोन रेइमबर्गले इक्वेडरको मुख्य माछा मार्ने बन्दरगाह मध्ये एक मान्टामा दुई हजार पाँच सय प्रहरी अधिकारीहरूलाई ‘रणनीतिक स्थानहरूमा तैनाथ गरेर’ सुरक्षा बढाएको घोषणा गरे ।

गिरफ्तारीपछि फिटो संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्न सहमत भए जहाँ अभियोजकहरूले उनीमाथि कोकेन र हतियार ओसारपसारको आरोप लगाएका छन् ।

एक पटक ल्याटिन अमेरिकामा शान्तिको गढ मानिने इक्वेडर संयुक्त राज्य अमेरिका र युरोपमा लागुऔषध ढुवानी गर्न आफ्ना बन्दरगाहहरू प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूद्वारा वर्षौँको विस्तारपछि सङ्कटमा परेको छ । (एएफपी)