मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

रौतहट- रौतहटमा प्रहरीको सक्रियताले साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि गत असार मसान्तसम्म विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको हो।

तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई–रिक्सा, २४३ मोटरसाइकल र ३३ थान साइकल सहित २९६ वटा सवारी साधन समेत बरामद गरेको उनले न्युज कारखानालाई जानकारी दिए ।

यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।

साथै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरि फैसला कार्यान्वयन गरिएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल र ११४ वर्ष १ महिना २० दिन कैद सजाय भुक्तानीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ।

प्रहरीका अनुसार यो उपलब्धि जिल्लाको शान्ति सुरक्षा र कानुनी शासनको पक्षमा उल्लेखनीय सफलता हो।