बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

काठमाडौं-  एक दशकदेखि पत्रकारिता तथा सांगीतिक क्षेत्रमा सक्रिय आर्थिक पत्रकार तथा गायक विक्रम सुनारलाई ‘चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२’ अन्तर्गत ‘दशक सम्मान’ प्रदान गरिएको छ । उपमा सञ्चार र तेज नेपाल मल्टिमिडिया प्रा.लि. ले संयुक्त रुपमा नेपाली पत्रकारिता, गीत, संगीत, साहित्य तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सुनारलाई ‘दशक सम्मान’ प्रदान गरिएको हो । 

उपमा संचारले हरेक वर्ष पत्रकारीता र कलाकारितामा निरन्तर १० वर्ष विताएका पत्रकार तथा कलाकारलाई ‘दशक सम्मान’ गर्दै आएको छ । २०६९ देखि पत्रकारितामा सक्रिय रहेका सुनारले सामुदायिक रेडियो गल्कोट एफएफ, बागलुङको धौलागिरी एफ, धौलागिरी टेलिभिन, इमेज टिभी र केही चर्चित आर्थिक अनलाइन न्युजपोर्टलमा काम गरेका छन् । अहिले उनी अर्थपथ डटकममा कार्यरत छन् । पत्रकारीतामा दशक बिताएका सुनार विगत ७ वर्षदेखि आर्थिक पत्रकारीतामा क्रियाशिल छन् । 

स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेका सुनारले सम्मानप्रति सामाजिक सञ्जालमार्फत खुशीयाली व्यक्त गरेका छन् । गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, सुनार स्वास्थ्य अवस्थाका कारण उपस्थीत हुन सकेनन् । मंगलबार उनलाई आयोजक संस्थाहरुले सम्मान पत्र प्रदान गरेका छन् । 

पत्रकार सुनारले लगनशिलताले मात्रै पत्रकारितामा पहिचान बनाउन सकिने बताए  । यो सम्मानले आफु पत्रकारिता प्रति थप प्रेरित भएको उनको भनाइ छ । 

‘पत्रकारीता यस्तो क्षेत्र हो, जहाँ श्रम, लगन र सत्यप्रतिको समर्पणले मात्र पहिचान बनाउँछ । यो यात्रामा एउटै भरोसा थियो, ‘कर्म’। म कर्ममा विश्वास राख्ने मान्छे  भएर होला मलाई न पुरस्कारको अपेक्षा, न त चर्चा, न हर्षको चाह नै । त्यसैले कर्मका बीचमा कहिलेकाँही प्राप्त हुने यस्ता सम्मानहरूले अझ बढी जिम्मेवार र प्रेरित बनाउँछन्,’ उनले भनेका छन्, ‘यो सम्मान मलाई व्यक्तिगत रूपमा मात्र होइन, मेरो कर्मलाई मान्यता दिइएको महसुस भएको छ ।यो सम्मान अतीतको मूल्यांकन होइन, भविष्यप्रति जिम्मेवारी हो ।’

संस्थाकी अध्यक्ष आशा गौतमले अग्रजलाई सम्मान र नव कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि नै वर्षेनी यस्ता कार्यक्रमहरु गर्दै आएको बताइन् । उपामा संचार प्रालिले कलाकर्मी र सञ्चारकर्मीहरुका हक र हित र संरक्षणका लागि निरन्तर काम गर्दै आएको छ । यस्तो कार्यक्रम आगामी दिनमा पनि गर्ने अध्यक्ष गौतमले बताइन् । नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको उनको भनाई छ ।