बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

काठमाडौँ- नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस 'लोजिष्टिक डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीन कनेक्टिभीटी' नाराका साथ मनाउने भएको  छ । आगामी साउन १३ गते (जुलाई २९, २०२५) काठमाडौंको हायात रिजेन्सी होटलमा मनाउने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सो दिवस मनाउने भएको हो ।

नेफाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश कुमार अग्रवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा वार्षिक कार्यक्रमबारे जानकारी गराउँदै भने, "कार्गो दिवस अब केवल उत्सव होइन, रणनीतिक मञ्च हो, जसले निजी क्षेत्र र नीति निर्माताबीच संवाद सृजना गर्दै नेपालको लजिस्टिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने अवसर प्रदान गर्छ।"

२९ जुलाईलाई प्रत्येक वर्ष ‘कार्गो दिवस’को रुपमा मनाउने परम्परालाई निरन्तरता दिँदै नेफाले यस वर्ष नेपाल इन्टरमोडल यातायात विकास समिति र कतार एयरवेज कार्गोको सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ।

सुरुवातमा पारिवारिक मिलन कार्यक्रमको रूपमा सुरु भएको यो दिवस पछिल्ला वर्षहरूमा व्यापारिक छलफल, नीतिगत संवाद तथा अन्तर्राष्ट्रिय सहयोग विस्तारको मञ्च बनेको छ। कार्यक्रमले नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, बोर्डका उच्च अधिकारीहरू, फ्रेट फारवाडिङ्ग, गोदाम व्यवस्थापन, आपूर्ति श्रृंखला, आयात–निर्यात व्यवसाय, उत्पादन उद्योग, वाणिज्य संघसंस्था लगायतका क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहनेछ।

अन्र्तराष्ट्रिय स्तरबाट विमान सेवा, समुद्री ढुवानी, अन्तर्राष्ट्रिय व्यापार संस्थाका प्रतिनिधिहरू, पर्यटन, बैंकिङ, बीमा र प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहने जानकारी गराइएको छ। कार्यक्रमको अवसरमा फ्रेट फरवाडिङ्ग उद्योगमा विशिष्ट योगदान दिने व्यवसायी, संघसंस्था, एयरलाइन्स तथा व्यक्तित्वहरूलाई ‘नेफा वार्षिक अवार्ड’ प्रदान गरिनेछ। साथै, उद्योगका समस्या तथा सम्भावनाहरूबारे कार्यशाला, सम्मान कार्यक्रम र नेटवर्किङ सेसनहरू आयोजना गरिने छन्।

अग्रवालका अनुसार कार्गो दिवसले लजिस्टिक क्षेत्रको आधुनिक प्रविधिमा पहुँच, पूर्वाधार विकासमा सरकारी ध्यानाकर्षण, तथा उद्योगमा संलग्न जनशक्तिको उत्प्रेरणामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उद्योगको सहज कार्गो प्रवाहले उत्पादन लागत घटाउने, सामान आयात–निर्यातमा समयमै सुविधा पुर्‍याउने र समग्रमा नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तीन दशकभन्दा बढी समयदेखि मनाइँदै आएको कार्गो दिवस अहिले नेपालको लजिस्टिक्स तथा फ्रेट फारवाडिङ्ग क्षेत्रको प्रमुख कार्यक्रमका रूपमा स्थापित भइसकेको छ।