शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

रगत अभावपछि बिरामीको उपचारमा समस्या

लम्की (कैलाली)- कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 
  
 रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत अभावमा शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिने र सडक दुर्घटनामा परेका जस्ता आकस्मिक बिरामीको उपचारका लागि आवश्यक रगत आपूर्ति गर्न समस्या भइरहेको बताए । 

उनले भने , “केन्द्रमा दैनिक रगतको अत्यधिक माग छ, तर दाताको अभावले रगत नियमित आपूर्ति गर्न समस्या भइरहेको छ ।” टीकापुर रक्तसञ्चार केन्द्रमा पनि रगत अभाव भएको उनले बताए ।
 
 रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशीले रगत अभाव भएपछि आपत्कालीन अवस्थालाई मध्यनजर गरी सरकारी, गैरसरकारी, युवाक्लब, सामाजिक सङ्घसंस्था, विद्यालय, क्याम्पसलगायतलाई रक्तदान कार्यक्रम गर्न आह्वान गर्नुभएको छ । “रगतको कुनै विकल्प छैन, प्रत्येक सचेत नागरिकले यस अभियानमा साथ दिन जरुरी छ”,उनले भने ।

बर्खायाममा बढ्ने गरेका आकस्मिक घटना र अन्य मौसमी रोगलगायत कारण स्वास्थ्य संस्थामा रगतको माग अत्यधिक हुने गर्छ । प्रदेशका अधिकांश जिल्लाका बिरामी उपचारका लागि धनगढीका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गरेका छन् । नियमित रक्तदाताको सङ्ख्या न्यून हुनु र जनस्तरमा रक्तदानप्रतिको चेतनाको अभावले पर्याप्तमात्रामा रगत सङ्कलन हुन नसकिरहेको अवस्था छ । 
 
प्रदेश सरकारले रक्तसञ्चार केन्द्रमार्फत सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीले भने रक्तसञ्चार केन्द्रमा तोकिएको रगत परीक्षण शुल्क बुझाएर रगत पाउने गरेका छन् । 
-