आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवम् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज शोक विज्ञप्ती जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवम् नेपाल सरकार गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताएका छन् ।

स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवम् निष्ठावान् व्यक्तित्व गुरुङको आज बिहान ८:४५ बजे ७६ बर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ । गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११ः१५ बजे उहाँको निवास भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टी गरिने कांग्रेसले जनाएको छ ।