बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

गण्डकी- सडक, पुल, नाला, चौतारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइमा यहाँका स्थानीयवासी जुटेका छन् । ‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रूपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर बागलुङको गलकोट नगरपालिकामा सरसफाइ अभियान चलाएका हुन् ।

गत असार ७ गतेदेखि हरेक शनिबार विभिन्न ठाउँमा पुगेर सरसफाइसहित सचेतनामूलक कार्यक्रम गर्ने गरिएको उक्त अभियानका संयोजक दीपक शर्मा पौडेलले बताउनुभयो । असार पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरिएको उनले जानकारी दिए ।

दास्रो शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट ३, ५ र ७ को सङ्गमस्थलमा रहेको दरमखोला पुल सरसफाइ गरिएको थियो । तेस्रो शनिबार मध्यपहाडी लोकमार्गमै पर्ने गलकोट–२ नरेठाँटीको पुल, चौथो शनिबार गलकोट–३ रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको संयोजक पौडेलले बताए।

गत शनिबार रजरा चौतारोको सौन्दर्यीकरणका लागि विभिन्न रुख र फूलका बिरुवा रोपिएको उनको भनाइ छ । “निर्माण भएको वर्षौं बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा पुलमा कुरूप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक पौडेलले भने, “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।” ठूलो लगानी गरेर रजराको चौतारो पुनर्निर्माण गरिएपनि रेखदेख नहुँदा जीर्ण बन्ने देखिएपछि सरसफाइ र वृक्षरोपण गरिएको उनको भनाइ छ ।

सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने संयोजक पौडेलले बताए । घरबाटै कुटोकोदालो, गैँती, बेल्चाजस्ता औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका हुन् । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, हटिया शाखाका अध्यक्ष नवराज गौतम, गलकोट बहुमुखी क्याम्पसका प्रध्यापनरत खिमनाथ गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय छन् ।

संयोजक पौडेल पनि शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सुरूमा पाँच जनाबाट सुरू भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध हुनुभएको छ । हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान सुरू गरिएको संयोजक पौडेलले बताए ।