बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

‘बसेपनि सहरः गाउँकै खाने रहर’

दमौली (तनहुँ)- यहाँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अग्र्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ । 

नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उहाँले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे । 

स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैंसी खरिद गरी दूध र दूधजन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैंसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए ।

अनुदानमा रू ४० लाख
गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि रु ४० लाख बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक रु एक हजार भत्ता उपलब्ध गराइनेछ । 

त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक रु एक हजार भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तरजातीय दाइजोमुक्त जोडीलाई रु ५० हजार अनुदान दिइने बताए । त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई रु पाँच लाख प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महशुलमा रु तीन हजार छुटको व्यवस्था गरिएको छ । रासस