शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

बेइजिङ- चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् ।

उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् ।

यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।

राजधानी बेइजिङमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ, जसमध्ये सबैभन्दा बढी क्षति उत्तरपूर्वी उपनगर मियुनमा देखिएको छ । यस्तै, राजधानीलाई घेरेको हेबेइ प्रान्तमा पहिरोले ८ जनाको ज्यान लिएको छ र अझै ४ जना बेपत्ता छन् ।

प्रत्येक गर्मी याममा चीनमा यस्तो प्राकृतिक विपत्ति हुने गर्दछ । जलवायु परिवर्तनका कारण वर्षा, बाढी र गर्मी जस्ता चरम मौसमका घटनाहरू अझै तीव्र र बारम्बार हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक देश हो, तर चीनले सन् २०६० भित्र कार्बन–न्यूट्रल बन्ने लक्ष्य राखेको छ । नवीकरणीय ऊर्जा उत्पादनमा पनि चीन विश्वकै अगुवा मुलुकमध्ये एक हो । (एएफपी)