शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

ग्वाटेमाला सिटी- ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूले आक्रमणकारी मलामी गएका स्थानीयसँग उक्त स्थानमा आपराधिक गतिविधि गर्दै आएको एक गिरोह मारासाल्भा ट्रुचा (एमएस)–१३ सँग जोडिएको बताएका छन् ।

व्यारियो–१८ र मारा साल्वाट्रुचा (एमएस–१३) गिरोहहरू बिचको विवाद हिंसात्मक बनेपछि यो घटना भएको हुनसक्ने ग्वाटेमालाका आन्तरिक मन्त्री फ्रान्सिस्को जिमेनेजले बताएका छन् । 

जिमेनेजका अनुसार राजधानीको अर्को भागमा सोमबार एक व्यक्तिको हत्या भएपछि सशस्त्र व्यक्तिहरूले शव दाहगृहमा आक्रमण गरेका थिए ।

मारा साल्वाट्रुचाका प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूले शवदाहगृहमा आक्रमण गरे र मृतकको परिवार र साथीहरू माथी गोली हानेको जानकारी प्राप्त भएको उनले बताएका छन् ।  

ग्वाटेमाला सहर नगरपालिकाको प्रवक्ता अमिलकार मोन्टेजोले बन्दुकधारीहरूले अन्त्येष्टि गृहभित्र गोली चलाउदा ‘सात जनाको मृत्यु र १३ जना घाइते’ भएको पुष्टि गरेका छन् ।

गोली प्रहार भएको स्थानबाट केही मिटरको दुरीमा थप घाइतेहरू फेला परेकोसमेत उनले बताए ।  

मोटरसाइकलमा आएका आक्रमणकारीहरू घटनापछि घटनास्थलबाट भागेका थिए । (एएफपी)