शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

काठमाडौँ- लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आर अन्तर्गतको पहिलो क्याबिनेट बैठक आउँदो शनिबार १७ गते अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौँमा आयोजना हुँदै छ। उक्त कार्यक्रम जिल्ला गभर्नर पीएमजेएफ लायन नवराज सापकोटाको अध्यक्षतामा सञ्चालन हुनेछ।

बैठक क्लस्टर १ को आयोजनामा हुँदैछ, जसको नेतृत्व क्लस्टर प्रमुख लायन रमेशकुमार पुडासैनीले गरिरहेका छन्। कार्यक्रम संयोजनको सम्पूर्ण जिम्मेवारी संयोजक लायन जगन्नाथ पुडासैनीले सम्हालिरहेका छन्, जसले आवश्यक तयारीहरूमा समन्वय गरिरहेका छन्।

यद्यपि देशभर वर्षातको मौसम रहेको छ, काठमाडौँको यो कार्यक्रममा हजारभन्दा बढी लायन सदस्यहरू सहभागी हुँदैछन्। दर्ता प्रक्रिया निकै उत्साहजनक ढंगले अघि बढिरहेको छ। सहभागी लायनहरूमा सेवा र एकताको भावनाले प्रेरित वातावरण देखिएको छ। काठमाडौं क्लस्टरले सम्पूर्ण पाहुनाहरूलाई सद्भाव, सेवा र आत्मीयताको साथ स्वागत गरिरहेको छ।

कार्यक्रम संयोजक लायन जगन्नाथ पुडासैनीले भने, “हामी क्याबिनेट बैठकलाई ऐतिहासिक बनाउन अन्तिम तयारीमा जुटिरहेका छौं। सहभागिता जनाउने सम्पूर्ण साथीहरूलाई स्वागत गर्न हामी पूर्ण रूपमा तयार छौं।”

त्यस्तै, क्लस्टर प्रमुख लायन रमेशकुमार पुडासैनीले पनि यस बैठकलाई विशेष बनाउन क्लस्टरले गरेको प्रयासप्रति विश्वास व्यक्त गर्दै भने, “काठमाडौं क्लस्टरले लायनहरूको स्वागत गर्न उत्साहपूर्वक तयारी गरिरहेको छ। यो बैठकले सेवा, सहकार्य र प्रेरणाको गहिरो प्रभाव पार्नेछ भन्ने विश्वास लिएको छु।”

कार्यक्रमस्थलमा लायनहरूको बाक्लो उपस्थिति र उर्जाशील सहभागिताले जिल्ला ३२५–आर भित्र नयाँ उत्साह, प्रेरणा र एकताको भावना सृजना गर्ने छ ।