शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

नौ खानेपानी योजना सञ्चालनमा

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ खानेपानी योजना सञ्चालनमा आएका छन् ।

सङ्घीय सरकारको चार आयोजना तथा प्रदेश सरकारको पाँच आयोजना आर्थिक वर्ष २०८१÷८२ देखि सञ्चालनमा ल्याइएको नवलपरासी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए । उनका अनुसार मुढाहा खानेपानी आयोजना, भगवती मन्दिर खानेपानी आयोजना, बन्देवी खानेपानी आयोजना, कुनुवार खानेपानी योजना र कञ्चनपुर खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो ।

यस्तै बर्दघाट–१ पञ्चनगर खानेपानी आयोजना, दाउन्ने देवी खानेपानी आयोजना, सुक्रौली खानेपानी आयोजना तथा छिबनी खानेपानी आयोजना सङ्घीय सरकारको लगानीमा बनेको हो । प्रत्येक नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने उद्देश्यका साथ सङ्घीय सरकार र प्रदेश सरकारले खानेपानी सञ्चालन गर्न रु ११ करोड २४ लाख ७७ हजार विनियोजन गरेकामा रु १० करोड ३७ लाख ९५ हजारको लागतमा निर्माण गरिएका हुन् । ती योजनाबाट एक हजार ५७ घरधुरी लाभान्वित भएका प्रमुख न्यौपानेले बताए ।

छिबनी खानेपानी सञ्चालनमा आएपछि दुई सय ३५ धारा जडान गरिएका छिबनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । यस्तै कुनुवार खानेपानी सञ्चालनमा आएपछि ७० धारा जडान गरिएका छन् । धारा जोड्ने काम भइरहेको कुनुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए । रासस