सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा- जिल्लाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ ।
आव २०७९/८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०÷८१ मा रु ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत आव २०८१/८२ मा रु ७० लाख छ हजार राजस्व सङ्कलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ ।
छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक सरदर रु छ लाख बराबरको राजस्व सङ्कलन भइरहेको छ । उनले भने, “सामान्यतः खाद्यान्न, किराना सामग्री, मेलापर्वका लागि आवश्यक सामग्री, खेलौना र सजावटका वस्तुहरू यो भन्सार नाका भएर आयात हुने गरेका छन् ।”
राजस्व वृद्धिको पछाडि सीमावर्ती व्यापारिक गतिविधिको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार र आयातकर्ताको सक्रियताजस्ता कारण रहेको प्रमुख केसीको भनाइ छ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा यो छोटी भन्सारले गाउँस्तरको सस्तो तथा दैनिक प्रयोगका सामग्री भित्र्याउन सहजता प्रदान गर्दै आएको छ ।
त्यस्तै स्थानीय व्यवसायीहरूले भन्सारको सेवा प्रवाहमा भएको सुधार र सहज प्रक्रियाले व्यवसायमैत्री वातावरण बनाएको बताएका छन् । एक स्थानीय व्यापारी मुकेशकुमार यादवले भने, “पहिला सामान ल्याउँदा धेरै झन्झट थियो, अहिले प्रक्रिया छरितो छ र राजस्व बुझाएर सहजै सामग्री ल्याउन सकिन्छ ।”
भन्सार प्रमुख केसीले आगामी महिनामा राजस्व सङ्कलन अझ बढ्ने विश्वास व्यक्त गरे । “चाडपर्व नजिकिँदै छ, जसका कारण व्यापारिक गतिविधि झनै बढ्नेछ । त्यसअनुसार राजस्व सङ्कलन पनि उच्च हुने अपेक्षा गरेका छौँ,” उनले भने । भारतसँग सिमाना जोडिएको यस जिल्लामा माडर र ठाडी गरी दुईवटा मूल भन्सार रहेका छन् भने एउटा छोटी भन्सार सञ्चालनमा रहेको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया