आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न

काठमाडौँ - नेपाली सांगीतिक परम्परालाई जगेर्ना गर्दै बालबालिकाको लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको 'प्रथम वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल जुनिअर बिट मास्टर मादल कम्पिटिसन २०८२' को ग्रान्ड फिनाले भव्यरूपमा सम्पन्न भएको छ।

नयाँबजारस्थित मनास्लु स्कूल/कलेजमा सम्पन्न प्रतियोगितामा देशभरिका २३ विद्यालय तथा सांस्कृतिक संस्थाबाट छनोट भएका ३९ जना बालप्रतिभाहरूले मादलमा आफ्नो लय, ताल र सिर्जनशीलता प्रस्तुत गरेका थिए। 'सानो हात, ठूलो ताल -मादलमा भविष्यको चाल!' भन्ने नारासहित सञ्चालन भएको प्रतियोगिताले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल स्वयं उपस्थित भई बालप्रतिभाहरूलाई हौसला र प्रेरणा प्रदान गरेका थिए। साथै, फियूसन जात्रा ब्यान्ड र हेरिटेज पल्स कनसरभेटरीको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलले प्रस्तुति, लय, ताल, आत्मविश्वास र सिर्जनात्मकतालाई मूल्यांकनको आधार बनाउँदै उत्कृष्ट प्रतिभाहरूलाई छनोट गरेको थियो। सहभागी ३९ जनामध्ये पाँच जनालाई विजेता घोषित गरिएको थियो। प्रतियोगितामा समिर डंगोल (न्यु जेनिथ अंग्रेजी माेडल स्कुल)ले प्रथम स्थान हात पार्दा, सुजल श्रेष्ठ (माेडल स्कुल) ले द्वितीय र प्रसन्न महर्जन (काठमाडाैँ म्युजिक मादल) ले तृतीय स्थान हासिल गरे। त्यस्तै, प्रभात तामाङ (फ्यूचर स्टार बाेर्डिङ स्कुल) चौथो र आर्यन पुरी (एन्जल लर्ड एकेडेमी) पाँचौं स्थानमा रहेका थिए।

विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र विभिन्न सांगीतिक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको आयोजना कल्स इभेन्ट ले गरेको हो। संस्थाका अध्यक्ष सञ्जय महर्जनले आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यापक बनाउँदै राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनले बालबालिकाको सांगीतिक प्रतिभा विकास र नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे।