ऐन कार्यान्वयनमा अन्योल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाबाट हालै पारित भएको ‘सुदूरपश्चिम प्रदेश, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ कार्यान्वयनमा अन्योल सिर्जना भएको छ । कर्मचारीको तह वृद्धि र बढुवालगायतमा गरिएको प्रावधानमा असमान व्यवहार गरिएकाले ऐन कार्यान्वयनमा जटिलता देखिएको कर्मचारीले बताएका छन् । ऐनबमोजिम नियमावली नबनेका कारणले ऐन कार्यान्वयनमा झनै समस्या देखिएको हो । यो ऐनबमोजिम कतिपय कर्मचारीको तह वृद्धि तथा बढुवासमेत भइसकेको जनाइएको छ ।
प्रदेशसभा सचिवालयका कानुन उपसचिव तेजप्रकाश जोशीले ऐनले सबै कर्मचारीलाई समान अवसर र व्यवहार नगरेको भन्ने असन्तुष्टिले समस्या सिर्जना भएको बताउनुभयो । उनले भने , “ऐनमा तह वृद्धि र बढुवाको कानुनी व्यवस्था असमान देखियो, मर्कामा परेका कर्मचारी मुद्दामामिलामा लाग्नुभएको छ, बढुवा हुन पाएकाहरु चुपचाप बस्नुभएको छ ।”
मर्कामा परेका कर्मचारीले दिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ऐनको दफा ९ को उपदफा ४ कार्यान्वयन नगर्न÷नगराउन केही दिनअघि अस्थायी अन्तरिम आदेश जारी गरेको उपसचिव जोशीले जानकारी दिनुभयो ।
ऐनको दफा ९ को उपदफा ४ मा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सङ्घीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीको सेवा अवधि यस ऐन प्रारम्भ हुँदाका बखत पाँच वर्ष पूरा भएको भए एक पटकका लागि एक तह वृद्धि गरिने व्यवस्था छ ।
यो ऐनलाई टेकेर बढुवा वा तहवृद्धि भइसकेका कर्मचारीको हकमा अब अदालतको फैसलाबमोजिम हुने भएको छ । यो ऐनको दफा ३ र ४ मा गरिएको व्यवस्थाले समान व्यवहार नभएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
ऐनका कतिपय दफा उपदफाप्रति गुनासो बढेपछि ऐन संशोधन आवश्यक भए÷नभएका बारेमा सुझाव दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन सचिवको संयोजकत्वमा केही दिनअघि कार्यदल गठन गरिएको छ । सो ऐनको प्रावधानले संविधानले प्रत्यायोजन गरेको स्थानीय सरकारको प्रशासनिक स्वायत्तता खण्डित गरेको भन्दै स्थानीय तहहरुले संयुक्त रुपमा उक्त ऐनको विभिन्न दफामा गरिएको व्यवस्था संशोधनको माग गरेका छन् ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया