मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र रहिरहनेछु

काठमाडौँ- व्यवसायी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईं उच्च अदालतको आदेशपछि कारागार मुक्त भएका छन् । कारागारमुक्तिपछि पहिलो पटक सार्वजनिक रुपमा फेसबुकबाट प्रतिक्रिया दिँदै उनले देश तथा विदेशमा रहेका सबै समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रसाईंले भने, “जिल्ला अदालतको आदेशअनुसार म खुशी साथ कारागार गएको थिएँ, उच्च अदालतको आदेशले आज मलाई घर फर्किने बाटो देखायो। तर मेरो यात्राको अन्त्य होइन, देश निर्माणका योजनासहित म पुनः अघि बढ्दैछु।”उनले अदालतप्रति विश्वास व्यक्त गर्दै न्याय प्रणाली अझै बाँचेको महसुस दिलाएको उल्लेख गरे। कारागारमा रहँदा साथ दिने सम्पूर्ण कारागार व्यवस्थापन, प्रहरी र थुनुवा साथीहरूलाई समेत उनले धन्यवाद दिए।

“म मेरो लागि हैन, देशकै लागि थिएँ, छु र रहिरहनेछु,” प्रसाईंले स्पष्ट रुपमा बताए। “तरिका र शैली फरक हुन सक्छन्, तर राष्ट्रसेवा र जनताप्रतिको मेरो संकल्प परिवर्तन हुँदैन।”

प्रसाईं उच्च अदालत पाटनको आदेशपछि धरौटीमा रिहा भएका हुन्। काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको सिलसिलामा पक्राउ परेका उनीसहित केही व्यक्तिहरूलाई जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको थियो।