मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

दिपायल (डोटी)- यहाँका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित भएका हुन् ।

बडिकेदार गाउँपालिका-४ रनुकाँडाका लक्ष्मण ताडीले चार वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा किबीखेती सुरु गरेका थिए । अहिले फल नदिँदा मेहनत र लगानी दुवै गुम्ने अवस्थामा पुगेको उनले गुनासो गरे । 

जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उदयसिंह कृषि तथा बहुउद्देश्य फार्म स्थापना गरेर किबी खेती अन्य तरकारीखेती गरिरहेको चार वर्ष भएको जनाउँदै उनले किबीमा तीन/चार वर्ष लगातार लगानी गरिए पनि उत्पादन हुने समयमा समस्या देखिएको बताए ।  

“किबी अरु फलभन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ । भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हो । यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ”, केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने । 

उनका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन् । खेती गर्नेको सङ्ख्या कम भए पनि पछिल्लो समय किबीखेतीतर्फ आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।