बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

फरार दुई अभियुक्त पक्राउ

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले १७ वर्षे किशोरीलाई जबर्जस्ती करणी गरेर फरार भएका दुई जना अभियुक्तलाई करिब तीन महिनापछि पक्राउ परेको छ । 

गत वैशाख २३ गते वीरगञ्जको एक होटलमा जबर्जस्ती करणी गरेर घडीअर्वा पोखरीको गल्लीमा किशोरीलाई छोडी फरार भएका दुई जना अभियुक्त मंगलबार पक्राउ परेका हुन् । 

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जबर्जस्ती करणी गरेर फरार भएका दुवै जनालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए । उनले भने, “ती अभियुक्तहरूले किशोरलाई पालैपालो बलात्कार गरेर रगताम्मे अवस्थामा छाडेर भागेका थिए ।” 

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ सिसियारी स्थायी घर भई वीरगञ्ज बस्ने नेक महमद र रौतहट स्थायी घर भई वीरगञ्ज बस्ने अफताव अन्सारी रहेका छन् । ती दुवै जना मोटरसाइकल वर्कसप सञ्चालक र कामदारको रूपमा कार्यरत रहेका थिए । 

प्रवक्ता लम्सालले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरेर ल्याएर अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीअन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।