बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरुङ्ग

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदले नै पास गरेर कानून बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सवैले मान्नुपर्ने बताएका हुन् ।

नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले बताए । मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन गर्ने बिषय सञ्चार मन्त्रालयको नभइ कानून मन्त्रालयको भएको जिकिर गरे । सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।