बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

संयुक्त राष्ट्रसंघ- गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार हुने सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले त्यसले मानवीय अवस्था थप गम्भीर बनाउन सक्ने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका युरोप, मध्य एशिया र अमेरिकाका सहायक महासचिव मिरोस्लाव येन्काले २०२५ अगस्ट ५ मा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजित सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै गाजामा सम्भावित सैन्य कारबाही विस्तारका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, “यदि गाजा क्षेत्रमा सैन्य कारबाही थप विस्तार गरियो भने, त्यसले लाखौं निर्दोष प्यालेस्टिनी नागरिकहरूको जीवनमा गम्भीर संकट ल्याउनेछ। साथै, गाजामा रहेका इजरायली बन्धकहरूको सुरक्षामा समेत थप खतरा उत्पन्न हुन सक्छ ।”

उनले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट सन्दर्भ दिँदै भने, “गाजा क्षेत्र भविष्यको प्यालेस्टिनी राष्ट्रको अभिन्न अंग हो र त्यसलाई त्यही रूपमा राखिनु अत्यावश्यक छ ।”

सन् २०२४ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार मतको हवाला दिँदै उनले भने, “इजरायलले नयाँ बस्ती निर्माण तत्काल रोक्नुपर्छ, अवैध रूपमा बसाइएका सबै बासिन्दाहरूलाई हटाउनु पर्दछ र प्यालेस्टिनी भूमिमा आफ्नो अवैध उपस्थिति अन्त्य गर्नुपर्दछ ।”

सन् २०२३ अक्टोबरबाट सुरु भएको द्वन्द्वयता ६० हजार भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, सन् २०२५ को मे महिनादेखि अहिलेसम्म खाद्यान्न खोज्ने क्रममा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र आठ हजार १०० भन्दा बढी घाइते भएको जानकारी उनले दिए ।

उनले भने, “युद्धका कारण दिनप्रतिदिन मृत्यु र घाइतेको सङ्ख्या बढ्दो छ, तर पीडाको अन्त्य हुने कुनै संकेत देखिएको छैन ।”

मानवीय सहायता प्रवेशमा भइरहेको अवरोधप्रति पनि उहाँले गम्भीर चिन्ता व्यक्त गरे । “गाजामा भोकमरी व्यापक छ र इजरायली पक्षबाट अनुमति दिइएको सहयोग अत्यन्त न्यून छ,” उनले स्पष्ट पारे ।

संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट उनले गाजामा जारी हिंसाको स्पष्ट शब्दमा निन्दा गर्दै भने, “खाद्यान्न खोज्ने व्यक्तिहरूमाथि गोली चलाउने, हत्या गर्ने वा घाइते बनाउने कुनै पनि कार्य मानवीय कानुनको गम्भीर उल्लंघन हो। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नु, उनीहरूलाई खाद्यान्न तथा जीवनरक्षक सेवाबाट वञ्चित नगर्नु मानवताको आधारभूत सिद्धान्त हो ।”

उनले इजरायल सरकारलाई शीघ्र, निर्बाध र पर्याप्त मात्रामा मानवीय सहायता गाजामा प्रवेश गराउन अनुरोध गर्नुभयो ताकि थप पीडा र ज्यान गुमाउने अवस्था टार्न सकियोस् ।

सम्बोधनको अन्त्यमा, उहाँले जोड दिँदै भने, “गाजा वा इजरायल–प्यालेस्टीन द्वन्द्वको दीर्घकालीन समाधान सैन्य नभई राजनीतिक हुनुपर्छ। यसका लागि दुवै पक्षका सुरक्षासम्बन्धी वैध चिन्तालाई सम्बोधन गर्दै मानवीय संकट अन्त्य गर्ने, पुनर्निर्माण प्रारम्भ गर्ने, र इजरायलको अवैध कब्जाको अन्त्यसहित दुई–राष्ट्र समाधानतर्फ ठोस पहल आवश्यक छ ।” (सिन्ह्वा)