बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

बनियानी (झापा)- यहाँको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने  संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । “नगरपालिका नगरवासीको अभिभावक संस्था हो”, नगरप्रमुख पोखरेलले भने, “परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।”

दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरे । कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिए । 

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।

त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवद्र्धन अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि र पशुपंक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा–२०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानुनको मस्यौदा–२०८२ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।