बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

फाइल तस्बिर

तनहुँ- विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । 

सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो । 

चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो । 

व्यासका वडा नं ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि खुलेका ती ट्रयाकमा स्तरोन्नति भइरहेको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले  बताए । निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती जोडिने सो सडक खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडकको हालसम्म १८.२९ प्रतिशत मात्र काम भएको छ । 

विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएकोमा काम पूरा नभएपछि छ महिना म्याद थप भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । 

सडक स्तरोन्नतिका लागि रु४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो ।  

त्यसैगरी दुलेगौंडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । अबको ६१ दिनमा काम पूरा गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । 

यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । मोटरमार्ग ७.१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो । लामादेका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको छ ।  

शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी ८, ९ र १२ वडालाई जोडिनेछ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।