दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

वीरगञ्ज (पर्सा)- यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँदेखि अधुरो बनेको छ ।
विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए ।
“हामीले चन्दा सङ्कलन गरेर जेनतेन धर्मशालामा दुई तले ढलान गरेका छौँ”, उनले भने, “धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ ।” राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उनको भनाइ छ ।
दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब रु एक करोड ५० लाख भन्दा धेरै रकम खर्च भएको बताए ।
“धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ”, उनले भने, “पर्सामा केही समयअघिसम्म सङ्घीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।” अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड लाग्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।
राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ । बिहान ६ बजेपछि सडक खुलाउने गरिन्छ । अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ ।
प्रतिक्रिया