शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान (सुनसरी)- तीन दिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।

राति करिब १:३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो । बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो ।”

स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए ।

उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन् । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको उनले बताए । गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो । 

त्यसबेला वडाबाट रु पाँच लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो ।