शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ। श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।

भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ। यसअघि श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो ।

त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।