ट्याटुमा संघर्ष गरिरहेका सागरको कला संसार घुम्दै

काठमाडौँ- अभिभावकले उनलाई सेनामा भर्ती बनोस चाह राखेका थिए । उनले राष्ट्रको सेवा गरोस र परिवारको भरोसा बनोस भन्ने थियो । एक्लो सन्तानको रुपमा रहेका सागर राना मगरले परिवार र समाजले चाहे भन्दा रुची भन्दा फरक पेशा रोजे । भाग्यलाई भन्दा बढी कर्मलाई विश्वास गर्ने हुँदा उनले शरीरमा रंग र निबसँग खेल्ने सागर ‘ट्याटु’आर्टिस्ट बने । ' शरीरमा कला बनाएर देखाउँछु र खुसी बनाउनेछु, मेरो कला संसारलाई घुमाउँछु ।' पहिलोपटक साथीहरूले टयाटु खोपेको देखेपछि उनको मनमा उब्जिएको अठोट थियो । नभन्दै उनका स्टुडियो फरक-फरक महादेशका मानिसहरू उनको अगाडि पुग्छन् ।
स्कुलदेखि कला मर्न दिएनन्
जसको साहसले आज उनी ट्याटु आर्टिस्ट बने । स्टुडियोमा बसिरहेका उनले दंग बनी रंग र निब देखाउँदै भने,’ स्कुल पढ्दादेखि आर्ट गर्थे । सायद स्कुलको कलाले आज यो स्टुडियोमा पुर्याएको छ । आज त्यसैको निरन्तरताले मानिसका शरीरमा रंगले खेल्न पाएकाले स्टुडियोमा आउने ग्राहकलाई सन्तुष्ट दिन सकेको छु । एकपटक टयाटु खोपेर गएका साथीहरूले अन्य मानिस पठाउने गरेको उनको स्मरणमा छ।
पहिलोपटक उनले साथीहरूले घरमा टयाटु हानिरहेको देखेका थिए । उनलाई पनि रहर जाग्यो ट्याटु आर्टिस्ट बन्ने। सफल ट्याटु आर्टिस्ट बन्ने भुत सवार भयो उनमा। ' सोहीबेला घरमा गएर रेडियोको मोटरबाट ह्यान्ड मेसिनबाट टयाटु बनाउन थाले,' उनले विगत सम्झे ।काठमाडौँमा हुर्केका सागरले १६-१७ वर्षको उमेरदेखि आफ्नो मनमा कला भरिसकेका थिए । आफूमा मात्र नभइ मानिसको शरीरमा आफ्नो कला देखाउने चाह बढ्दै गयो उनमा ।
रहर र सपनालाई एकसाथ घुमाउँदै
टयाटु आर्टिस्ट बन्ने रहर मात्र थिएन, सपना थियो सागरको । एक दशक बढी भयो उनले स्टुडियोमा बसेर रंग र निबसँग खेल्न थालेको । जोरपाटीबाट सुरू गरेको व्यवसायीक यात्रा हाल उनले ठमेलमा ‘इडेन टयाटु स्टुडियो’ सञ्चालन गरिरहेका छन् । दुई लाखबाट सुरु गरेको व्यवसायिक यात्रा ५० लाखसम्म पुर्याइसकेका छन् ।
सागरले स्टुडियोको नाम 'इडेन' राख्नुको अर्थ खुलाए । जसले शीतलता र प्रकृतिको आभास दिन्छ । स्टुडियोमा बिरूवा र फूल तथा अक्युरियम छन् । सानो जंगलजस्तो तलाउमा माछा यताउता गरिरहेका छन् । अक्युरियममा उनले झरना र बुद्धको सानो मूर्ति राखेका छन् ।
टयाटुलाई उनी प्रकृति र अध्यात्मसँग जोड्न सकिने बुझाउँछन् । 'मेरा धेरै ग्राहकहरू प्रकृतिका र बुद्धका ट्याटु बनाउँन आउँछन् । ट्रेकिङ गएर देखेका दृश्य र हिमालका ट्याटु बनाउँछन्,' उनले रहस्य बताए । सागरले आफैँ टयाटु बनाउन आफैँ सिके । कुनै 'मेन्टर' राखेनन् । कुनै स्टुडियो धाएनन्।
आफ्नो कला र सिर्जनालाई निखारेर नाम जस्तै फराकिलो बनाए । उनी विगत कोटयाउँछन् ,' धेरै कलाकारहरूले अरूले सिक्छन् झै गर्थे । बनाउन जान्नेहरू आफ्ना कला लुकाउँथे, अरूले आफ्नो कला सिकि पो हाल्छन् झै गर्थे । मैले आफू भित्रको सिर्जना मर्न दिइन। आफ्नो लागि आफैँ गुरु बने ।‘
ट्याटु संस्कृतिलाई नेपाली समाज,घरपरिवार र अभिभावकले अझै पनि खुलेर स्वीकार्दैनन्। शरीरमा ट्याटु खोप्नेहरू नराम्रो आचरण तथा खराब प्रवृत्तिका मानिस अझ भनौं विदेशी संस्कृति भनेर धारणा बनाइएको थियो । सागरले सुरूमा परिवारबाट खासै साथ पाएनन् । ट्याटु भनेको समाजमा बिग्रेको मानिसले बनाउने भन्ने चलन चलेको घर-परिवारमा नराम्रो छाप बसेको थियो । हरेक मानिसमा टयाटु खोप्दा उनी संघर्ष बनाइरहेको सम्झन्थे ।
परिवार र समाजले बिस्तारै बुझ्दै गए
‘ट्याटु बनाउने मानिस डरलाग्दो, फरक चरित्र र बिग्रेको मानिस सम्झने भएकाले पनि मलाई सुरुवातीबाट परिवारले साथ दिएनन्’, संघर्षका दिन सम्झँदै भने,’ अहिले भने परिवार र समाजको धारणा बदल्दै गएको छ । चेतनाको कारणले होला यो ट्याटु बनाउँदैमा मानिस बिग्रने होइन । यो पनि एउटा हो पेशा भनेर बुझ्न थालेका छन् ।‘
उनको स्टुडियोमा विभिन्न उमेर समूहका मानिसहरू आउँछन् । १८ वर्षदेखि माथिकालाई भने ट्याटु खोप्न नेपाल सरकारको कानुनले बन्देज गरेको छैन । सोही अनुसार होला सागरको स्टुडियोको ढोकासम्म आउनेहरू १८ वर्षमाथिका हुन्छन् । ‘८० वर्षसम्मका मानिसहरू ट्याटु खोप्न आएका छन्,’ उनले अनुभव सुनाए,’ नेपाली भन्दा विदेशीहरू यस्ता उमेर समूहमा पर्छन् । अचेल नेपाली अभिभावकहरू आफ्ना छोराछोरीले ट्याटुको रहर गरेमा साथमा लिएर स्टुडियोमा आउने गरेका छन् ।‘
विशेषगरी नेपाली युवायुवतीमा टयाटुको मोह जागेको उनलाई लागेको छ। त्यसैले पनि स्टुडियोमा सबै खालका मानिसहरूको भीडभाड रहने गरेको उनी बताउँछन् । उनले विवाहित महिला र पुरुष पनि साथैमा आइ ट्याटु खोप्न आउने गरेको बताए ।
अझ भनौं अहिलेका युवायुवतीमा शरीरका विभिन्न भागमा टयाटु हान्ने फेसन बनिसकेको छ । आखिर मानिस के भनेर ट्याटु स्टुडियोको खोजीमा आइपुग्छन् भन्ने प्रश्नमा उनी भन्छन्,’ मानिसले भोगेका अनुभव, बाँचेको समय र अर्थ । अरुले गरेको देखासिकी, जीवनमा घटेका घट्नाहरू सम्झनाका लागि खोप्ने गरेका छन् ।
महिला र पुरूष बराबर
धेरै जसोले हातमा टयाटु खोप्ने गरेको सागरले सुनाए । आजभोलि टयाटु खोप्नेको संख्या महिला र पुरूष बराबर हुन थालेको उनी बताउँछन् । पुरुषले ठूला-ठूला आकारका हान्छन भने महिलाले साना-साना आकारका टयाटु खोप्ने गरेको अनुभव उनीसँग छ । नेपालमा भगवानको टयाटु हान्नेहरू बढी भएको सागरको बुझाइ छ । उनले धेरै जनाको शरीरमा बुद्द र शिवको टयाटु खोपिसकेका छन् । स्टुडियोमा आउनेहरू आफ्नै कन्स्पेट बोकेर आउने गरेका छन् ।
उनका अनुसार सुन्दर शरीरलाई सजाउँने चलन बढ्दो छ । सकारात्मक सोचाइ,अर्थयुक्त कुराहरूले शरीर सजिएका हुन्छन् । मानिसको जीवन रहेसम्म यो टयाटु रहने हुँदा सुन्दर कुरा सम्झेर आउनेको संख्या बढिरहेको छ । ‘ग्राहकको रोजाइ अनुसार आफूले बनाइदिनु पर्छ । हाम्रो लागि पहिलो प्राथमिकता भनेको ग्राहक हुन्,’ उनले हाँस्दै भने,’ स्टुडियोमा ग्राहक बनेर आएकाहरू ट्याटु बनाएर फर्कदा मेरो असल साथी बनेर जान्छन् । एकजना कम्तीमा पनि मेरो साथमा दुई घण्टामा बस्छन् ।‘
कलाकार भएकैले धेरै मानिसको सम्पर्कमा
टयाटुले उनलाई स्टुडियोमा मात्र सीमित गराएको छैन । स्टुडियो भन्दा परको संसारमा पनि पुर्याएको छ । ट्याटु आर्टिस्ट भएकै नाताले उनले धेरै मानिसको सम्पर्कमा पुगे । त्यसैले पनि उनले संसारलाई हेर्ने नजर बदलिसकेका छन् । ‘दश वर्ष भयो आर्टिस्ट पेशाको यात्रामा हिँडेको । स्टुडियोमा बसेर समय बितेको थाहा नहुने । अहिले यिनै रंग र निबसँग माया बसिसकेको छ । रंगसँग नछुट्ने माया बस्यो। ग्राहकलाई खुसी बनाउन र रहर लागेको पुरा गर भनेर आजसम्म यहीँ छु । सायद अरुलाई खुसी बनाउनु नै मेरो सपना थियो होला,’ उनी दार्शनिक सुनिए ।
सागरले टयाटु कन्भेन्सनमा पनि सहभागिता जनाइसकेका छन् । दुई वर्षमा हुने टयाटु कन्भेन्सनमा आफ्नो सहभागिता छुटाउँदैनन् । अहिले सम्म १० वटा कन्भेनसनमा सहभागी जनाइसकेका छन् । डिल्लीको कन्भेन्सनमा उनले अवार्ड पनि प्राप्त गरेका छन् । कन्भेन्सनमा विभिन्न मुलुकका कलाकारको सहभागिता हुन्छ । सन् २०१८ देखि कन्भेन्सनमा जान थालेका उनले अनगिन्ती ट्याटु बनाएको अनुभव उनीसँग छ ।
प्रति घण्टा पाँच हजार
ट्याटु बनाएको घण्टाको उनले पाँच हजार लिने गरेका छन् । पर्यटकीय क्षेत्र ठमेलमा पर्यटक र नेपालीलाई लिने एउटै मूल्य भएको सागरले जानकारी दिए । ग्राहकलाई खुसी बनाएर मासिक ६-७ लाख आम्दानी हुने गरेको उनी बताउँछन् । स्टुडियोमा भएका रंगलाई देखाउँदै ३० वर्षीय सागर भन्छन्,’ नेपालीले सबैभन्दा बढी प्रयोग गर्ने रंग कालो हो । विदेशीले फरक- फरक किसिमका रंग प्रयोग गर्छन् । विदेशीहरू रंगलाई जीवनसँग तुलना गर्ने भएकाले पनि अनेक रंग प्रयोग गर्ने गरेका छन् ।‘
टयाटु खोप्न प्रयोग गरिने सबै सामग्री अमेरिकाबाट आयात हुने उनले जानकारी दिए । नेपालमा यस्तो सामग्री नपाइने उनको भनाइ छ । गुणस्तरीय सामग्री प्रयोग गरेर ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने गरेको उनले बताए । यहाँको सामग्री प्रयोग गरेर कोही कसैले पछुताउन नपर्ने उनको भनाइ छ । ग्राहकले हरेक स्टुडियोमा जानुअघि कलाकार कतिको अनुभवी र कस्ता-कस्ता कन्भेन्सनमा अटेन्ड गरेका छन् त्यो बुझ्नलाई उनले सुझाव दिए ।
स्टुडियोमा ट्याटु मात्र बनाउने होइन कि बनाएको मेटाउन आउनेहरूको संख्यामा कमी छैन । एक पटक बनाइसकेको ट्याटु सहजै हटाउन नसकिने उनको अनुभवले बताउँछ ।
कला र पैसा फरक
‘एउटा ट्याटु हटाउन ४-५ महिना लाग्छ । स्किन अस्पतालमा गएर लेजर प्रयोगबाट हटाउने गरेका छन्,’ उनले सुनाए,’ हामी सुरूमा सम्झाउँछौ । भविष्यमा यसलाई हटाउन सकिन्न । पछि गएर पश्चाताप बोध नगर्नु होला ।‘ टयाटुलाई पैसाको रुपमा नभइ कलाको रुपमा हेर्न उनले सुझाए । पैसा काम गरेर कमाउन सकिन्छ । कलालाई पैसामा तुलना गर्न थालियो भने यसले मूल्य पाउन सक्दैन । सिर्जना र अनुभव एकदम फरक शक्ति हो,’ सागर दार्शनकि सुनिन्छन् ।
टयाटु स्वस्थ्य मानव शरीरको लागि जोखिम छैन । सुगरका बिरामीले भने टयाटु खोप्न नहुने उनको सुझाव छ । आर्टिस्टले सधैँभरि ग्राहकको स्वास्थ्यमा भने ख्याल गर्नुपर्ने उनी बताउँछन् । ‘ कला भनेको अरुले थाहा नपाउने आफूले मात्र थाहा पाउने प्यासन रहेछ,’ उनले आफूले गरेको कामलाई सम्झदै भने,’ मैले मेरो लागि खनेको बाटोमा हिँडेको छु त्यसैले मलाई यो पेशामा लाग्दा रत्तिभर पछुतो छैन । पहिलोपटक रंग र मेसिन छोएको अनुभव भन्न सक्दिन तर मनले भने कलाकार बन्छ भन्ने आवाज बोलेको थियो ।‘
फुटबलको 'म्यानेजर' र 'कोच' मा के फरक छ ?

युद्धको भग्नावशेषलाई खेलमैदानमा परिणत गर्दै स्पाइडर्स पार्कोर समूह

झाडीले भरिएको बगर बन्यो खेलमैदान

मेस्सीको मियामी प्रवेश, सिटीको 'ट्रेबल' तथा जोकोभिचले कीर्तिमान कायम गरेको व…

क्रिकेटः भारत र पाकिस्तानसँग ऐतिहासिक खेल, विश्व कीर्तिमान र विश्वकप छनोट

यू-१९ एसिया कपः नेपालका लागि इतिहास दोहर्याउँदै विश्वकपको तयारी गर्ने अवसर

क्रिकेटर भीम सार्की : जसलाई बुबाले अधियाँ कमाएर हुर्काएका थिए

प्रतिक्रिया