तारे होटलमा कोदोको तात्तातो सेल !

काठमाडौँ- नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् ।
पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ ।
पाँचतारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौँ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेलरोटीको वासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी–थपी खाए ।
रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ–किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो ।
नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मुर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए ।
विदेशी पाहुना बस्ने ठुला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्न सके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् । “नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ”, अध्यक्ष शाहले भने, “नेपाली खानाको धेरै माग छ । ठुला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ ।”
अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहल पहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । “नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो”, संयोजक सापकोटाले भने ।
सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँचतारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए । “यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर बिस्तारै कोदो फापर सिस्नोजस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सके सबै होटल रेस्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ”, उनले भने ।
अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच संस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिनुभयो ।

‘मोहनी ढोरपाटन’ पुग्नै सकस

जुलाईमा नेपाल भित्रिए ७० हजार विदेशी पर्यटक

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

प्रतिक्रिया