लुम्बिनी सरकारको चाल, संघीय सरकारकै हाल

बुटवल - लुम्बिनी प्रदेशमा २०७४ मा बनेको पहिलो सरकार दुई तिहाईको थियो । खासगरी नेकपा एमाले र माओवादीविच चुनावी तालमेल भएपछि लुम्बिनीमा दुई दलको संयुक्त संख्या दुई तिहाईको थियो ।
चुनावपछि ती दलबीच औपचारिक रुपमा एकता पनि भयो । त्यसपछि सबैलाई लाग्यो लुम्बिनी प्रदेशमा बनेको पहिलो अर्थात संस्थापक सरकार पांच बर्षका लागि स्थायी भयो । तर मुलुकको राष्ट्रिय राजनितिमा आएको उतारचढावले लुम्बिनीलाई पनि अछुतो राखेन । ठ्याक्कै संघीय सरकारजस्तै दुई तिहाईको कम्युष्टिको सरकार अल्पमतमा पुगेको छ । संघीय सरकार परिवर्तनपछि अबको पालो लुम्बिनीको भएको चर्चा चल्न थालेको छ ।
कूल ८७ सदस्यीय प्रदेश सभा सदस्यहरु रहेकोमा अहिले दुईजना एमालेवाट निर्वाचित सांसदले राजिनामा दिए भने दुई जना माओवादीवाट निर्वाचित सांसद निलम्वनमा परे । हाल प्रदेश सभामा ८३ सांसद छन् । बहुमतका लागि ४२ जना संसदको आवश्यकता पर्दछ । संविधानको धारा १६८ (१) अनुसार एकल दलको बहुमतका आधारमा बनेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा छ । जबकि एउटै दल नेकपा एमालेको अहिले संसदमा संख्या ३८ रहेको छ । उसले जसपाको महन्थ पक्षका ३ जना सासदलाई मन्त्री बनाएको छ । उनीहरु ३ जना थप गर्दा पनि कुल संख्या ४१ अथवा अल्पमतमै हुन्छ । यस्तो अवस्थामा पोखरेल नेतृत्वको सरकार संवैधानिक हिसावले ढलिसकेको छ ।
कसरी गुम्यो दुई तिहाई
लुम्बिनीमा २०७८ वैशाख ६ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेशमा सत्तामा अंकगणितको जोड घटाउ शुरु भएको थियो ।
त्यसयता विपक्षी दल प्रदेश प्रमुख र मुख्यमन्त्री पोखरेलको कदम असंवैधानिक भन्दै आएका छन् । विपक्षीहरु शंकर पोखरेल सरकारलाई अल्पमतमा रहेको बताउँदै आएका छन् ।
माओवादीका २० जना सदस्यहरुले सरकारलाई समर्थन फिर्ता लिएपछि अल्पमतको अवस्थामा पुग्न थालेको सरकारलाई त्यसपछि लगातार झड्का लाग्दै आयो । हुनत एक्लै ४१ जना संसद रहेको एमालेमा दुईजना सांसदले पदवाट राजीनामा दिए । दुर्गनारायण पाण्डे र अमर वहादुर डाँगीले पद छोडेपछि एमाले ३९ मा झर्यो, त्यसपछि नेकपाबाट उपचुनाव जितेकी विमला ओलीले माओवादी रोजेपछि त सत्तारुढ एमाललेलाई थप नैतिक संकटमा पर्यो ।
त्यसकै निरन्तरतास्वरुप गत असार ३१ गते विपक्षी दलहरुले बजेट फेल गराएर प्रदेश सरकारलाई अप्ठेरोमा पार्न खोजेका थिए । आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्णयार्थ पेश हुनै लाग्दा मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षका सांसदहरु प्रदेश सभा बैठक चलिरहेकै अवस्थामा बहिस्कार गर्दै बाहिरिए । सदनबाट बजेट पास गर्न नसक्ने देखेपछि सरकारले त्यसै रात प्रदेश सभाको अधिवेशन अन्त्य ग¥यो । र, भोलिपल्ट अध्यादेशबाट बजेट ल्यायो ।
विपक्षी गठबन्धनले अप्ठेरोमा पार्ने र मुख्यमन्त्रीले चलाखी गर्ने क्रम यतिमा मात्रै सीमित छैन । यसअघि पटक–पटक सरकार जोगाउन र ढाल्न सांसदलाई प्रभावमा पार्ने र लाभका पद दिनेसम्मका काम दुवै पक्षबाट भएका छन् । गत वैशाख ६ गते कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर त्यसै दिन जसपाका ४ सांसदलाई पोखरेलले आफू नेतृत्वको सरकारमा मन्त्री बनाए ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र हस्ताक्षर नगरेकी कल्पना पाण्डे लम्साल मन्त्री बनाएर पोखरेलले सत्ता जोगाएका थिए । अविश्वासको प्रस्तावमा छलफल गर्न बैशाख १९ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान भयो । बैठक सुरु हुने दिन बिहानै मुख्यमन्त्रीले राजीनामा दिए अनि प्रदेश सभा अधिवेशन अन्त्य गराए । यति बेला मन्त्री बनेका जसपाका ४ सांसद पदमुक्त भएको सूचना प्रदेश सभा सचिवालयबाट जारी भइसकेको थियो ।
कूल ७९ जना प्रदेश सभा सदस्य मध्ये ४१ सांसद सहित एमाले बहुमतमा देखिएको थियो । त्यसैले मुख्यमन्त्रीले बहुमतको नियुक्तिको लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दावी पेस गरे । तर मुख्यमन्त्री नियुक्त नहुँदै नेकपाबाट चुनाव जितेकी विमला ओली आफू माओवादी केन्द्रमा रहेको घोषणा गरिन् । कपिलवस्तुका दुर्गनारायण पाण्डेले प्रदेश सांसदबाट राजीनामा दिए । माओवादी केन्द्रका कुलप्रसाद केसीले पनि आफूसँग बहुमत देखाउँदै मुख्यमन्त्रीमा दाबी पेश गरे । अन्तत मुख्यमन्त्री पोखरेलले सोही साँझ प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा ल्याएर शपथ लिएका थिए । प्रदेश प्रमुख आफू निकट भएका कारण पोखरेललाई सत्तामा टिक्न बरदान नै मिल्यो ।
विपक्षी गठबन्धनले फेरि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेश सभाको अधिवेशन आह्वानको माग गरेका थिए । तर प्रदेश प्रमुखले अधिवेशन नै बोलाएनन् । त्यसको रिस विपक्षीलाई थियो । योपटक बजेट फेल गराएरै मुख्यमन्त्रीलाई अप्ठेरोमा पार्ने विपक्षी गठबन्धनको दाउ थियो । तर अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएर पोखरेलले अर्को चलाखी गरे ।
संसद् छलेर अध्यादेशबाट बजेट ल्याएको पोखरेल सरकारलाई क्षणिक राहत त भएको छ । तर सरकारको वैधानिकतामाथि निरन्तर प्रश्न उठाइरहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा थप आक्रोशित भएका छन् । विपक्षीको निशानमा प्रदेश प्रमुख अब विपक्षी गठबन्धन शंकर पोखरेललाई मुख्यमन्त्रीबाट जसरी पनि हटाउने भनेर लागेका छन् । केन्द्रमा हालै मात्र ओली सरकारबाट बाहिरिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । ओली प्रधानमन्त्रीबाट हटेसँगै लुम्बिनीका विपक्षी दलले शंकर पोखरेललाई हटाउन केही सहज देखेका छन् । त्यसको लागि उनीहरुले थप रणनीति तयार गरेर केन्द्रमा समेत दबाब दिइरहेका छन् ।
ओली नेतृत्वको संघीय सरकार बचाउन र एमाले एक बनाउन लागिपरेका मुख्यमन्त्री शंकर पोखरेल आफ्नै सरकार बचाउन कसको सहारा लिने हुन् आम चासोको विषय बनेको छ ।
विपक्षी गठबन्धनले प्रदेश सभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र आफूहरूसँग प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ । मुख्यमन्त्री पोखरेल केपी ओलीका खास सहयोगी भएको र ओलीकै इशारामा संविधानलाई उपेक्षा गर्दै सत्ता लम्बाएको विपक्षी गठबन्धनको आरोप छ । त्यसबाहेक प्रदेश प्रमुख धर्मनाथ यादवको भूमिकाका कारण पनि मुख्यमन्त्रीले चलाखी गरेर पदमा टिकेको विपक्षीको तर्क छ । निष्पक्ष भूमिका नदेखाएका प्रदेश प्रमुखलाई परिवर्तन गरेर लुम्बिनी सरकारको विकल्प खोज्नुपर्ने कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलको निष्कर्ष छ ।
उनीहरु चरणबद्ध रुपमा लुम्बिनीको सत्ता ढलाउने कसरतमा जुटेका छन् । शुरुमा प्रदेश प्रमुख परिवर्तन गर्ने, त्यसपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने र उक्त प्रस्ताव पास गरेर पोखरेललाई हटाउने उनीहरुको रणनीति छ । कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान लुम्बिनीका प्रदेश प्रमुख परिवर्तन भएमा मुख्यमन्त्रीले असंवैधानिक चलखेल गर्न नपाउने बताउँछन् ।
‘संघमा सरकार परिवर्तन भएपछि उसले आफूलाई अनुकुल हुने गरी राजनीतिक नियुक्त गरेको हुन्छ । प्रदेश प्रमुख पनि राजनीतिक नियुक्तिको एउटा पाटो हो,’ उनले भने ‘अन्य पार्टीको सरकार आएपछि प्रदेश प्रमुख पनि परिवर्तनको प्रक्रियामा जान्छ । त्यसो भयो भने लुम्बिनीमा नयाँ कोर्षको सुरुवात हुन्छ ।’
ठाकुर पक्षले के गर्ला ?
संघीय सरकारमा देउवालाई मत दिएको जसपा ठाकुर पक्षले लुम्बिनीमा के गर्छ भन्ने विषयले पनि निकै अर्थ राख्ने देखिन्छ । यसअघि ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत दिएको छ । त्यसको प्रभाव लुम्बिनीमा पनि पर्ने यहाँका विपक्षी दलले आशा गरेका छन् ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा माओवादी केन्द्रका सांसद सुदर्शन बरालले जसपाको दुबै पक्षले देउवा सरकारलाई विश्वासको मत दिएकाले अब मुख्यमन्त्री पोखरेलको बहिर्गमन सहज हुने उल्लेख गरे । उनले भने, ‘जसपा एकै ठाउँमा उभिएर केन्द्रमा गठबन्धनको पक्षमा मतदान गरिसकेका छन् । अब जसपाका यहाँका मन्त्रीहरु पनि फिर्ता होलान् ।’
ओली सरकार, राष्ट्रपति र प्रदेश प्रमुखको आडमा शंकर पोखरेलले लुम्बिनीमा अबैध सरकार सञ्चालन गरेको आरोप बरालको । ‘उहाँ सँधै अल्पमतमा हुनुहुन्छ । अहिले पनि अल्पमतको मुख्यमन्त्री हो । अहिले उहाँलाई हात थाप्ने शक्ति केन्द्रहरु नहोलान्, जस्तो सुकै अबैध कामलाई स्वीकृत दिने प्रदेशप्रमुख अब नरहलान त्यसपछि उहाँलाई गाह्रै होला,’ उनले भने ।
यस्तो छ संसदको जोडघटाउ
लुम्बिनीको संसदमा ८३ सांसद छन् । जसअनुसार बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् । जसपाका ठाकुर पक्षका ३ सांसदले एमालेलाई साथ दिएका छन् । यसरी एमाले ४१ सांसदसहित सरकारमा छ ।
विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ सांसद छन् । यसरी सरकार अल्पमतमा छ ।
संघीय संसदमा काग्रेसका देउवालाई कांग्रेस, माओवादी, जसपा र माधव नेपाल पक्षले विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि मत आउनेमा विपक्षी गठबन्धनको विश्वस्त छ । त्यसो भएमा विपक्षी गठबन्धनसँग ४५ सांसद हुनेछन् ।
एमालेले दाङमा उपनिर्वाचनमा नेकपाबाट निर्वाचन जितेकी विमला ओली एमाले रहेको र सभामुखले चतु¥याईपूर्वक माओवादी केन्द्रको सांसदको मान्यता दिएको आरोप लगाउँदै आएको छ । तर उसले विमला एमाले हुन् भन्ने प्रमाण भने सार्वजनिक गर्न सकेको छैन । विमलाले दल रोज्न पाउने सुविधाअनुसार माओवादी केन्द्र रोजेको पत्र संसद सचिवालयले सार्वजनिक गरेको थियो ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया