मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको क्रियाशील सदस्यता विवादका कारण आफूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिन लागेको सिंहले बताए ।

‘मैले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिन ‘राजीनामा पत्र’ लेखेर हस्ताक्षर गरिसकेको छु,’ डा. सिंहले इकागजसँग भने, ‘अब पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन जाँदैछु ।’

उनले पार्टीको आन्तरिक विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेकाले पार्टी सभापतिलाई बुझाउन लागेको बताए । ‘मैले राष्ट्रिय कारणले नभई पार्टीको आन्तरिक कारणले राजीनामा दिन लागेकाले सभापतिलाई बुझाउन लागेको हुँ । संसद् सचिवालयमा होइन,’ डा. सिंहले भने । 

पार्टीको क्रियाशील सदस्यता विवादका कारण सर्लाही र धनुषाका नेता कार्यकता पार्टी केनद्रीय कार्यालय सानेपामा आमरण अनसन बसिरहेका छन् । उनीहरूका माग सम्बोधन गर्न माग गर्दा पार्टी नेतृत्वले नमानेकाले वीपी स्मृति दिवसको दिन पारेर सांसद पदबाट राजीनामा दिने घोषणा गरेको डा. सिंहले बताए । 

सिंह सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।