विद्यार्थी खोज्दै शिक्षक घरघरमा

हेटौँडा - मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नाआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।
सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट सुरु गर्ने भनेको थियो । पशुपतिनाथ माविमा २०७७ को वार्षिक परीक्षामा ५४४ विद्यार्थीले परीक्षा दिएका थिए । विसं २०७८ असार महिनाभरि विद्यार्थी भर्ना गरी पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको विद्यालयले सोचेअनुरुप हुन नसकेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।
एक महिनाको अवधिमा ५० विद्यार्थी मात्र सम्पर्कमा आएकाले आफूहरु चिन्तित भएर भर्ना अभियान लिएर गाउँमा गएको उनको भनाइ छ । 'अतिविपन्न र लोपोन्मुख जातिका बालबालिकालाई अध्ययन गराउने भएका कारण पनि घरदैलो अभियान चलाएका हौँ ।' खेतीपाती गर्ने मौसम भएकाले विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकलाई भेट्न खेतबारीमै पुग्ने गरेको उनको भनाइ छ ।
कोभिड महामारीमा विद्यालय नपुगेसम्म अध्ययन/अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको उनको भनाइ छ । भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव भएको उल्लेख गर्दै अधिकांश अभिभावकसँग स्मार्ट फोन भए पनि इन्टरनेटको अभावमा अध्ययन गराउन केही असहज हुनसक्ने बताए । यद्यपि केही उपाय लगाएर अध्ययन/अध्यापन गराउन समयमा नै भर्ना गराउन आफूहरु लागिपरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
घरमा खाने गाँस कटाएर पनि अभिभावकले स्मार्टफोन किन्नुपरेकामा आफूलाई दुःख लागेको बताउँदै उनले विद्यार्थी सम्पर्कमा आएर पाठ्यपुस्तक लिएमा मात्र उनीहरूलाई वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलापमा जोड्न सकिने छ उनले बताए। घरदैलो अभियानमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार एक प्रतिशत विद्यार्थीको घरमा मात्र इन्टरनेट जोडिएको पाइएको प्रअ आचार्यले बताए । भर्चुअल माध्यम सम्भव नभएको अवस्थामा अन्य विकल्प खोजी गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
असार महिनाभर विद्यार्थी भर्ना अभियान चलाए पनि विद्यार्थी भर्ना हुन नआएपछि शिक्षकले घरदैलो अभियान शुरु गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिए । 'हाम्रो विद्यालयमा चेपाङ, वनकरियालगायत विपन्न समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण पनि हामी आफैँ उनीहरूलाई विद्यालय ल्याउने कार्यमा सजग छौँ,' उनले भने ।
नेपाल टेलिकमले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) प्रविधि अपनाएर विद्यार्थीलाई नियमित सम्पर्क गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । परम्परागत कृषि पेशामा मात्र निर्भर रहेका मनहरि–४ मसिनेका अभिभावकले बालबालिकाको अध्ययनका लागि इन्टरनेट र कम्प्युटर तथा मोबाइल उपलब्ध गराउन सक्ने सम्भावना नदेखिएको अध्यक्ष गौतमले बताउनुभयो । सीमान्तकृत तथा लोपोन्मुख वनकरिया समुदायका १५ बालबालिका यो विद्यालयमा पढिरहेका छन् । बाइस घर वनकरिया परिवारमा १०० सदस्य रहेका छन् । इन्टरनेटको सुविधा यो समुदायमा पुग्न सकेको छैन ।
अभिभावकका मोबाइल डाटाबाट बालबालिकाले कहिलेकाहीँ नेट भने चलाउने गरेको सन्तोषी वनकरियाले बताइन् । उनका अनुसार अभिभावक खेत र मजदुरीमा जानुपर्ने कारण पनि बालबालिकालाई भर्चुअल कक्षामा बसाउन गाह्रो भइरहेको छ । विद्यालयले भर्ना र अध्यापन गराउन घरमा आएर आग्रह गरे पनि प्रविधिले साथ नदिएको उहाँको भनाइ छ । आफू १२ कक्षा पास गरिसकेकाले आफ्नो समाजका बालबालिकालाई पढ्न प्रेरित गरिरहेकी उनले हालसम्म १५/२० वनकरियाले फेसबुक नै चलाउन थालिसकेको भए पनि सबै बालबालिकालाई भने नेटबाट पढाउन समस्या रहेको बताइन् । भर्चुअल कक्षामा पढाइकै लागि डाटाबाट महङ्गो पर्ने भएकाले पनि सम्भव नभएको सन्तोषीको भनाइ छ ।
यसैगरी कक्षा ९ मा अध्यनरत अनिल वनकरियाले आफूहरू गोठालो गएर समय व्यतित गरिरहेको बताइन् । उनले मोबाइल डाटा चलाउने भए पनि पढ्न नै पुग्ने गरी मोबाइलमा पैसा हाल्न पनि समस्या नै हुने बताइन् । अभिभावक बुद्धिमान राईले आफ्ना बच्चा पढाउन मोबाइल डाटाबाट नसक्ने र इन्टरनेटको पहुँच नभएकाले पनि विद्यालयले भनेको जसरी बच्चा पढाउन नसकिने जानकारी विद्यालयलाई गराएको र विद्यालयले पनि अन्य उपाय अवलम्बन गर्ने आश्वासन दिएको उनको भनाइ छ ।
एक दशकअघिसम्म वनकरिया बस्तीबाट विद्यालय जाने दुई जना मात्र थिए। अरू बालबालिका जङ्गलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे। अहिले भने बस्तीमा परिवर्तन देखिएको छ। वनकरिया समुदाय मात्र होइन दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका पनि पशुपतिनाथ माविमा अध्ययन गरिरहेका छन् । ती समुदायमा इन्टरनेटको पहुँच छैन । अनलाइन कक्षा चलाउन सम्भव नभएपछि विद्यालयले अर्को विकल्प खोजी गरिरहेको बताइएको छ ।
पशुपतिनाथ माविको जस्तै अवस्था मकवानपुरका ग्रामीण क्षेत्रका विद्यालयले भोग्दै आएका छन् । भौतिक उपस्थिति, पुस्तक र कापी–कलमबिना पनि विद्यालयबाट औपचारिक अध्ययन गर्न सकिने, वेबसाइटमा पाठ्य सामग्री खोजेर पढ्न सकिने र शिक्षक शिक्षिकाले जुम र गुगल मिटमा पढाउने र इमेल, मेसेन्जर, वाट्सप, भाइबरजस्ता माध्यमबाटै गृहकार्य दिन थालेका छन् । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशका प्रायः शिक्षकलाई लामो छोटो अवधिको प्रविधिमैत्री तालिम प्रदान गरिएको वाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले २० प्रतिशतभन्दा कम शिक्षकमात्रै प्रविधिको प्रयोग गरी पढाउन सक्षम भएको बताए । उनका अनुसार ग्रामीण भेगका कतिपय शिक्षक नै इन्टरनेटको पहुँचमा रहेका छैनन् । सबै शिक्षक प्रविधि चलाउन नजान्ने भएका कारण पनि समस्या भएको उनको भनाइ छ ।
सरकारले २०७७ चैत ११ गतेदेखि गरेको पहिलो चरणको बन्दाबन्दीका कारण शैक्षिक संस्था बन्द भएपछि शिक्षकले विद्यार्थीसँग सम्पर्कमा रहिरहने उपायको खोजी गरिहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीलाई अनलाइन कक्षा अध्ययनका लागि सहजीकरण गरिरहेको छ । अञ्जली थापा/रासस

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_0GNp11ApvB_nmckuw9ydfsnrlkjafk85jbse4jnp1p9x2ct52yqqke86kvqrcdyvpya5k6f.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया