सार्वजनिक बसमा झुण्डिएर रंगशाला जाने १८ वर्षे ठिटोको विश्व विजेता बन्ने सपना
काठमाडौँ- फुटबल टिम गेम हो । त्यहाँ एक खेलाडीको प्रदर्शनले मात्रै खेल वा उपाधि जितिन्छ भन्ने हुन्न । तर एथलेटिक्समा यसको ठीक उल्टो हुन्छ । यो खेलमा भने व्यक्तिको प्रदर्शनले मात्र खेलमा आनका तान फरक पर्छ । जित वा उपाधि व्यक्तिको आफ्नै मेहेनतमा निर्भर हुन्छ । एथलेटिक्सको यही विशेषताले सप्तरी राजबिराजका अजितकुमार यादवलाई लोभ्यायो । अनि अजितले निधो गरे, करियर नै यही खेलमा बनाउने ।
अजितको रहर थियो, राष्ट्रिय टिमको स्ट्राइकर बन्ने । तर आठ कक्षा पढ्दै गर्दा भाग लिएको एक दौड प्रतियोगिताले उनको सपना परिवर्तन भयो । शिक्षा दिवसका अवसरमा आयोजित ‘रोड रेस’मा उनी तेस्रो बने । पाँच हजार पुरस्कार पाए । अनि, उनलाई लाग्यो, व्यक्तिगत मेहेनतकै भरमा सफल भइने खेल पनि रहेछ । अब यसमै लाग्छु ।
‘करिब एक हजार सहभागी थिए जस्तो लाग्छ । त्यत्तिको भिड मैले जीवनमा कहिल्यै देखेको थिइँन । नडराई दौडेँ,’ अजितले जीवनको पहिलो टर्निङ प्वाइन्ट सम्झँदै भने,‘ भाग लिएको पहिलो स्पर्धामै तेस्रो भएँ । नगद पुरस्कार पाएँ, पत्रिकामा नाम आयो । आज पनि समाचारको कटिङ सुरक्षित राखेको छु । यहीबाट एथलेटिक्सतर्फ आकर्षित भएँ ।’
त्यसको एक महिनापछि अजितले अर्को प्रतियोगितामा भाग लिए । ‘प्यारागन रोड रेस’ नाम गरेको सो प्रतियोगितामा अजित प्रथम भए । च्याम्पियन अजितले २५ हजार पुरस्कार थापे । जसले उनलाई थप उत्साहित बनायो । एथलेटिक्समा करियर बनाउने अजितको लक्ष्य झनै सुदृढ भयो ।
नेपाल एपीएफ स्कुलमा अध्ययन गरिरहेका अजित प्रशिक्षकविनै अभ्यास गर्थे । कसैको मार्गदर्शनविना अभ्यास गर्दा सफल हुन मेहेनत मात्र एउटै विकल्प थियो । यसबीचमा उनले राष्ट्रपति शिल्डमा भाग लिने भए । विद्यालयस्तरको प्रतियोगिता भएकाले वडा, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको बाटो तय गर्नुपथ्र्यो । यसरी उनी राष्ट्रियस्तरको प्रतिस्पर्धा हुँदै पोखरासम्म पुगे । उनी १५ सय मिटरमा त चौथो भए तर ५ हजार मिटरको दौड भने उनले पूरा गर्नै सकेनन् ।
पहिलो असफलताले अजितलाई गम्भीर बनायो । ‘पोखरा पुग्दा उत्साहित थिएँ । किनभने धेरै मेहेनतपछि त्यहाँ पुगेको थिएँ । तर दौड नै पूरा गर्न नसकेपछि स्वभाविक रुपमा निराश भएँ । त्यसपछि इख लिएँ र थप मेहेनत गर्न थालेँ,’अजित भन्छन् । कतिसम्म भने उनले स्कुलको छात्रावास पुगेकै दिनबाट अभ्यास सुरु गरे । कहिलेकाहीँ त उनी राति १२ बजेर उठेर पनि दौडिन्थे ।
यही मेहेनतले उनलाई २०७२ सालमा शिक्षा दिवसको अवसरमा आयोजना भएको प्रतियोगिता जितायो । अनि राष्ट्रपति रनिङ शिल्डको केन्द्रीयस्तरको प्रतिस्पर्धामा पनि सफल बनायो । २०७३ सालमा काठमाडौँमै सम्पन्न राष्ट्रपति शिल्डमा त उनले राष्ट्रिय कीर्तिमान नै राखे । त्यो पनि, १५ सय र ३ हजार मिटरका दुवै स्पर्धामा । विद्यालयस्तरमा अजितले राखेको कीर्तिमान अरु कसैले नभई उनी आफैँले भंग गर्दै आएका छन् । २०७३ मा राखेको कीर्तिमान उनले २०७४ मा भंग गरे । त्यसको एक वर्षपछि त्यसमा पनि सुधार गरे । २०७५ मा उनले १५ सय मिटरको दौड चार मिनेट दुई सेकेन्डमा पूरा गरे । जुन कीर्तिमान आजको दिनसम्म पनि कायम छ । अनि तीन हजारतर्फ भने उनले ८ मिनेट ४८ सेकेन्डमा पूरा गरे ।
राष्ट्रियस्तरको कीर्तिमान त छँदैछ, उनले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलता झनै अवाक् बनाउने किसिमको छ । चैत, २०७५ मा उनी एसियन जुनियर एथलेटिक्स (यू–१८ तर्फ) को ३ हजार मिटर स्पर्धामा च्याम्पियन बने । जुन नेपाली एथलेटिक्सले महादेसीय प्रतियोगितामा प्राप्त गरेको पहिलो स्वर्ण थियो । पहिलो सहभागितामै स्वर्ण पदक जितेका अजितले राष्ट्रिय कीर्तिमान पनि बनाए । आफूले राखेको कीर्तिमान अर्को खेलाडीलाई भंग गर्न नदिने गरेका अजितले ८ मिनेट ३०.३२ सेकेन्डमा दौड सकेका थिए । जुन उनी आफैँले राखेको कीर्तिमानमा सुधार थियो ।
हङकङको सफलताले अजितलाई विश्व एथलेटिक्स च्याम्पियनसिप (यू-२०) मा पुर्याएको छ । अगस्टमा केन्याको नैरोबीमा हुने च्याम्पियनसिपमा उनी ३ हजार मिटरमा दौडनेछन् । तर त्यसभन्दा अगाडि उनी अर्को प्रतियोगितामा सहभागी हुँदैछन् । भारतको पन्जाबमा हुने फेडेरेसन कपमा सहभागी हुनेछन् । यसै साता हुने प्रतियोगितामा उनी १५ सय मिटरको दौडमा प्रतिस्पर्धा गर्दैछन् । पन्जाब हुने प्रतियोगितामा भाग लिन अजित बुधबार त्यता जाँदैछन् । त्यहाँबाट फर्केर एक साता लामो अभ्यासपछि उनी अफ्रिका लाग्नेछन् ।
विश्व च्याम्पियनसिपमा ३ हजार मिटरमा दौडने भए पनि अजित भारतीय प्रतियोगितामा भने १५ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । ३ हजार मिटरमै एसियन च्याम्पियन बनेकाले उनी विश्व च्याम्पियनसिपमा पनि सोही स्पर्धामा सहभागी हुन लागेका हुन् । ‘अबका केही वर्ष म १५ सय मिटरमा केन्द्रित हुन चाहन्छु । पन्जाबमा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाउने लक्ष्य छ,’ अजितले भने ।
विश्व च्याम्पियनसिपका लागि गरिएको तयारीप्रति भने उनी सन्तुष्ट छैनन् । उनले जम्माजम्मी एक महिना मात्रै अभ्यास गर्न पाए । त्यसमा पनि रोकावट आइरह्यो । कारण ? अभ्यास स्थलमा सजिलै प्रवेश गर्न नपाउनु । ‘सुरुका तीन साता लगातार अभ्यास गर्न पाएँ । किनभने ओलम्पिकमा जान लागेका खेलाडीहरूसँग दशरथ रंगशाला छिर्न पाइन्थ्यो । तर उनीहरू टोकियो गएपछि रंगशालामा सहज प्रवेश पाउने स्थिति भएन । नयाँ अनुमतिपत्र मागियो । जुन हामीसँग थिएन,’ अजितले थपे, ‘नयाँ कसले बनाइदिन्छ भन्नेबारे पनि थाहा थिएन । खेलाडीले आउँदै गरेको विश्व स्तरिय प्रतियोगिताको लागि तयारी गर्ने हो कि कागजपत्र खोज्दै हिड्ने हो ? म खेलाडी हो, अभ्यास गर्न रंगशाला छिर्न पाउनु पर्यो नी ।’
कोभिड–१९ महामारीका कारण जारी लकडाउनले गर्दा अजितले सुरुदेखि नै अभ्यास गर्न पाएनन् । ‘अभ्यास गर्न पाउने आशसहित लकडाउनमा घर नगई यहीँ बसेँ । विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेको खेलाडी अभ्यासमा रहनुको साटो घर जाने कुरा पनि भएन । धेरै समस्याका बावजुद पनि घर फर्किँन । तर त्यो अवधिमा एक दिन पनि अभ्यास गर्न पाइँन । च्याम्पियनसिप सुरु हुन एक महिना बाँकी छ भन्ने भएपछि मात्रै तयारी सुरु भयो,’ अजित भन्छन् ।
अभ्यासस्थल र अवधिको कमी त नेपाली खेलकुदका स्थायी समस्या भइगए । यीबाहेक पनि अन्य धेरै समस्या छन, जुन अजित जस्ता खेलाडीले बारम्बार भोगिरहन्छन् । आर्थिक समस्यादेखि आधुनिक खेलमा खेलाडीलाई आवश्यक पर्ने आधारभुत सुविधा नेपाली खेलाडी भोग्ने नियमित समस्या हुन् । त्योबाहेक फिजियोथेरापी, कन्डिस्निङ, डायट प्लान आदि पनि नेपाली खेलाडीका लागि अप्राप्य सुविधा हुन् । विश्व च्याम्पियनसिपका लागि कडा मेहेनत गरिरहेका खेलाडीलाई न त डायट प्लान उपलब्ध गराइन्छ, न त आवश्यक फिजियो सेवा नै छ । हुन त खेलाडीका लागि पर्याप्त डायट नै छैन, प्लान त परको कुरा । फेरि अजित जस्ता युवा खेलाडीसँग डायट किन्न आवश्यक आर्थिक स्रोत पनि कसरी होस् ?
‘अहिले क्लोज क्याम्प छैन । म गुरुसँग अभ्यास गरिरहेको छु । डायट, जुत्ता जस्ता आधारभुत कुरामा हुने खर्चका लागि आर्थिक स्रोत नै जुटाउन सकिँदैन । एथलेटिक्स संघका अध्यक्षबाट महिनावारी केही रकम पाउँछु । तर अपुग हुन्छ । त्यसकारण प्रतियोगिता जितेवापत् पाउने नगद पुरस्कार बचत गर्ने र त्यसबाटै चल्नुपर्ने अवस्था छ । जागिर छैन । धन्न पढेको पैसा लाग्दैन,’ पिनाकल एकेडेमीको छात्रावासमा बस्ने अजित भन्छन् । तर अजित यी समस्याका कारण निराश छैनन् । अधिकांश नेपाली खेलाडीको हालत यही हो भन्ने बुझेका छन्, अजितले । ‘यही अवस्थामा खेल्नु छ । र, म तयार पनि छु,’ अजित थप्छन् ।
नेपाल सरकारमा खेलाडी संरक्षणको नीति छैन । अजित एसियन च्याम्पियन बन्दा पनि नेपालको संघीय सरकार खासै उत्साहित भएन । जम्मा १ लाख नगद दिएर झारा टा¥यो । जबकि अन्य खेलमा अन्तर्राष्ट्रिय उपाधि जित्ने खेलाडीलाई ९ लाख रुपैंयाँसम्म दिएको दृष्टान्त छ । धन्न, प्रदेश नम्बर दुई सरकारबाट अजितले पाँच लाख पाए । यद्यपि अजितलाई पैसाको धेरै मोह छैन । उनी बस् आधारभूत सामाजिक सुरक्षा होस् भन्ने चाहन्छन् । ‘खेलले नाम, प्रतिष्ठा दिएको छ । कीर्तिमानका कारण मेरो नाम इतिहासमा लेखिनेछ । यी कुराले मलाई सन्तुष्टि दिएको छ । पैसा नै चाहिएको भए त सायद विदेश नै गतिलो विकल्प हुन्थ्यो होला,’ जम्मा १८ वर्ष पुगेका अजित बुझ्झकी कुरा गर्छन् ।
युट्युब हेरेर डायट प्लान बनाउने अजितको दैनिकीको एक हिस्सा रंगशालाको अभ्यास पछि बसमा झुन्डिएर होस्टेल पुग्नु हो । थकित दिमाग र शरीरलाई अध्ययनमा लगाउनु पर्ने त छँदैछ । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका अजितलाई गृहकार्य पनि गर्नुपर्ने हुन्छ । उनका लागि त्योभन्दा ठूलो गृहकार्य छ, थप अन्तर्राष्ट्रिय पदक ल्याउनु । यही कारण अजित स्वतःस्फूर्त दबाबमा छन् । तर पदकको गृहकार्यमा अब्बल अंक ल्याउने आत्मविश्वासमा छन् अजित भलै उनले व्यवस्थित अभ्यास गर्न पाएका छैनन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया