लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै विपक्षीद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण
संवैधानिक कदम चाल्ने शेरचनको भनाइ

बुटवल -लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेश प्रमुख भएर बुटवल आएका शेरचनलाई शनिबार स्वागत गर्न पुगेका विपक्षी दलहरू नेपाली काँग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसदहरूले सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रियासमेत पूरा नगरी सरकार चलाएको उल्लेख छ । यस्तै वैशाख १९ गते सांसदमा प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको काँग्रेस दल नेता वीरेन्द्र कनौडियाले आरोप लगाए ।
उनले संविधानको १६८ ( १) अनुसार तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए । प्रदेश सरकारले संसद् चलिरहेका वेला रातारात संसद् अन्त्य गरेर अध्यादेशबाट बजेट लिएका मुख्यमन्त्रीले गलत काम गरेको उनको आरोप छ ।
प्रदेश प्रमुख शेरचनलाई संविधानको र कानुनी मर्म अनुसार प्रक्रिया थाल्न विपक्षी गठबन्धन दलहरूले अनुरोध गरे । उनीहरूले आफूहरूको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।ध्यानाकर्षण पत्र बुझाउन चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया , माओवादी संसदीय नेता कुल प्रसाद केसी ,जनता समाजवादी पार्टी नेपाल संसदीय दल नेता सहजराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीसहित विपक्षी दलका प्रदेश सभा सदस्यहरू सशरीर प्रदेश प्रमुखको कार्यलयमा पुगेर ध्यानाकर्षण पत्र बुझाए । लुम्बिनी प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् । प्रदेश प्रमुख शेरचनले तत्काल मुख्यमन्त्रीसंग कुरा गरेर आगामी कदम चाल्ने बताए ।
विपक्षी दलहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षणपत्र संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए । उनले विपक्षी दलहरुले उठाएका मागबारे मुख्यमन्त्री शंकर पोखरेलसंग पनि छलफल गर्ने बताए । उनले भने -यो विषयमा मुख्यमन्त्रीसंग पनि तत्काल कुरा गर्छु, संविधान भन्दा दायाँबायाँ कसैले गर्नुहुँदैन । सकेसम्म सहमतिबाट टुंग्याउनुपर्ने र नभए प्रक्रियाबाट हल गर्नुपर्ने शेरचनको मत छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया